काठमाडौं, साउन २२ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहले राज्यका महत्त्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गरिरहेको सूचना आफूले पाएको खुलासा गर्नुभएको छ ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै सभापति थापाले यस्तो खुलासा गर्नुभएको हो । सरकारको कार्यशैली र जिम्मेवार पदाधिकारीको अभिव्यक्ति लोकतन्त्र सुहाउदो नभएको भन्दै सभापति थापाले कडा आपत्ति पनि जनाउनु भयो । लोकतान्त्रिक पद्धतिमा विधिको शासन सर्वोपरि हुने उल्लेख गर्दै थापाले कानुनभन्दा माथि कोही पनि नहुने स्मरण गराउनु भयो ।
‘प्रधानमन्त्रीले मन्त्रीहरूबिना नै बैठक गर्ने र राज्यका महत्त्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गर्ने काम गरिरहनुभएको छ। मुख्य व्यक्तिको कार्यशैली नै अराजक भएपछि त्यसको प्रभाव तल्लो तहसम्म पुगेको छ,’ सभापति थापाले भन्नुभयो ।
सभापति थापाले मन्त्री र सांसदहरूबाटै उत्तेजक र धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक हुनुले विधिको शासनलाई चुनौती दिएको भन्दै विभिन्न माग राखेर आन्दोलनरत पक्षहरूसँग सरकारले गर्ने सम्झौता कार्यान्वयन नभएको प्रति चिन्ता जनाउनु भयो ।
उहाँले सरकार बहुमतको अहंकारमा रहेकोले सत्यलाई सुन्नै नचाहने प्रबृत्ति बढेको पनि थापाको भनाई छ । ‘लोकतन्त्रको आत्मा भनेकै कानुनको शासन हो। तर वर्तमान सरकारमा प्रचण्ड बहुमतको अहंकार देखिएको छ, जसले गर्दा शासकीय अराजकता निम्तिएको छ,’ थापाले भन्नुभयो ।
लघुवित्त र सहकारी पीडित, शिक्षक, नर्स तथा चिकित्सकका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै उहाँले सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नहुँदा नागरिकको भरोसा राज्यबाटै टुट्दै जाने खतरा रहेको तथ्य पनि औंल्याउनु भयो ।
‘अहिले नागरिकहरूमा ठूलो आक्रोश छ। यस्तो बेला कांग्रेसले आन्दोलनमा घिउ थप्ने काम गर्दैन। हाम्रो मुख्य जिम्मेवारी भनेको नागरिकको भरोसा राज्यमाथि कायम राख्नु र सरकारलाई आफ्ना सम्झौताप्रति जवाफदेही बनाउनु हो,’ थापाले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्