जनता टाइम्स

२३ श्रावण २०८३, शनिबार १७:०५

चीनको पूर्वी तटतर्फ शक्तिशाली टाइफुन, विद्यालय र पर्यटकीय स्थल बन्द


काठमाडौं, साउन २३। समुद्री आँधी टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि विभिन्न क्षेत्रमा विद्यालय तथा पर्यटकीय स्थल बन्द गरिएको छ।

समाचार संस्था एपीका अनुसार टाइफुनको अधिकतम निरन्तर हावाको गति करिब १६२ किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ। आँधीसँगै भारी वर्षा हुने र बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने चीनको मौसम विभागले जनाएको छ।

टाइफुन आइतबार राति झेजियाङ प्रान्त तथा छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ। चीनको प्रमुख आर्थिक सहर साङ्घाई पनि आँधीको सम्भावित मार्गमा रहेको बताइएको छ।

टाइफुनको जोखिमलाई ध्यानमा राख्दै झेजियाङ प्रान्तले तेस्रो तहको आपत्कालीन प्रतिक्रिया घोषणा गरेको छ। चीनको चार तहको आपत्कालीन प्रणालीमा यो दोस्रो न्यून स्तर हो।

झेजियाङका अधिकांश पर्यटकीय स्थल शनिबार र आइतबार बन्द गरिएको छ। फेरी तथा क्रुजलगायत पानीमा सञ्चालन हुने गतिविधिसमेत रोकिएको छ।

निङ्बो सहरमा विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गर्न आदेश दिइएको छ। प्रशासनले आँधीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।