जनता टाइम्स

२४ श्रावण २०८३, आईतवार १२:००

कक्षाकोठाको ‘सर’देखि बारीको किसानसम्म : खोरियामा फुलेको दिलबहादुर आछामीको सपना


रामेछाप, साउन २४। खहरेमा कहिल्या पानी बग्दैन । हिउँद, वर्षा उस्तै । सधैँ सुक्खा । 

त्यही खहरेको छेउमा रहेको एउटा पाखो जमिन केही वर्षअघिसम्म झारपात, काल्ना र बुट्यानले ढाकिएको थियो। न उत्पादनको खासै आशा, न आम्दानीको कुनै हिसाब।तर, आज त्यही पाखामा पुग्दा दृश्य फेरिएको छ।

हरिया झाङमा लटरम्म ड्रागन फल झुण्डिएका छन्। कतै आँपका बोटले फल दिन थालेका छन्। भूइँकटहरका बोट जमिन ढाकेर उभिएका छन्। कागती, अम्बा र अनारका बिरुवाले बारीलाई बगैँचाको स्वरूप दिएका छन्।

त्यो बारी हेर्दा लाग्छ-जमिन मात्रै फेरिएको छैन, कसैको सपना पनि आकार लिएको छ।त्यो सपना देख्ने व्यक्ति हुनुहुन्छ- दिलबहादुर अछामी।

विद्यालयमा उहाँ ‘दिलबहादुर सर’ हो। रुद्राक्षेश्वर माध्यमिक विद्यालय, मुगिटारमा विद्यार्थीलाई पढाउनु हुन्छ तर, विद्यालयको घण्टी सकिएपछि उहाँको अर्को कक्षा सुरु हुन्छ-माटोको कक्षा। त्यहाँ किताबका पाना हुँदैनन्, पसिना हुन्छ। कालोपाटी हुँदैन, बारी हुन्छ। अनि पाठ्यक्रमको सट्टा हुन्छ-अनुभव। साँच्चिकै व्यवहारिक शिक्षा । 

मन्थली नगरपालिका–७, भटौलीको आसिखेतमा रहेको अछामीको जमिन केही वर्षअघिसम्म खासै उपयोगमा थिएन। खहरेको छेउमा परेको पाखो भएकाले खेतीका लागि आकर्षक पनि थिएन। तर, दिलबहादुरले त्यही जमिनलाई अर्को आँखाले हेर्नुभयाे। “यहाँ पनि केही गर्न सकिन्छ,” भन्ने एउटा सानो विचारले उहाँको कृषि यात्रा सुरु भयो।

बाँझो जमिनलाई सफा गर्नुभयो । पाटा बनाउनुभयो। पोल गाड्नुभयो। अनि तीन वर्षअघि ड्रागनका बिरुवा रोप्नुभयो । 

त्यो निर्णय सामान्य थिएन। करिब पाँच लाख रुपैयाँ लगानी गर्नुपर्‍यो। एउटा शिक्षकका लागि त्यो रकम सानो थिएन। तर, अछामीले त्यसलाई खर्चका रूपमा होइन, भविष्यमा गरिने लगानीका रूपमा हेर्नुभयो । 

पहिलो वर्ष बोट हुर्काउने समय थियो। त्यसपछि फल आउन थाल्यो। बारीले बिस्तारै आफ्नो भाषा बोल्न थाल्यो-मेहनत खेर जाँदैन। आज त्यो बारीले उनको पाँच लाख रुपैयाँको लगानी फिर्ता गरेर नाफा दिन सुरु गरिसकेको छ । 

ड्रागन खेतीले आम्दानी दिन थालेपछि अछामीको आत्मविश्वास पनि बढ्यो। गत वर्ष उनले करिब तीन लाख रुपैयाँको ड्रागन बिक्री गरे। यस वर्ष करिब साढे तीन लाख रुपैयाँ बराबरको उत्पादन बिक्री भयो । अझै बारीमा फल बाँकी छ। “गत साल तीन लाख जत्तिको ड्रागन बेचियो, यस वर्ष साढे तीन लाख जत्तिको बेचियो, अब डेढ लाख जत्तिको होला,” उहाँले भन्नुभयो । 

उहाँको आवाजमा ठुलो व्यवसायीको दम्भ छैन। बरु, माटोले दिएको पहिलो सफलताको सन्तुष्टि छ। पैसाभन्दा ठुलो कुरा उहाँले यसबाट आत्मविश्वास कमाउनु भएको छ ।  

दिलबहादुरको जीवनको सबैभन्दा रोचक पक्ष यही हो-उहाँ पूर्णकालीन किसान होइनन्, पूर्णकालीन शिक्षक मात्र पनि होइनन्। उहाँको दिन दुई ठाउँमा बाँडिएको छ। बिहान र साँझ बारीमा। दिउँसो विद्यालयमा। विद्यालयमा उहाँ विद्यार्थीको भविष्यसँग जोडिनुहुन्छ। बारीमा आफ्नो भविष्यसँग।

दिलबहादुरको कथा एउटा शिक्षकले खेती गरेको सामान्य कथा होइन। यो सम्भावना देख्ने आँखाको कथा हो, बाँझो देखिएको जमिनमा पनि जीवन खोज्ने हिम्मतको कथा हो, आफ्नो पेसाभन्दा बाहिर पनि आफूलाई चिनाउन सकिन्छ भन्ने आत्मविश्वासको कथा हो र सबैभन्दा महत्त्वपूर्ण- यो माटोले कहिल्यै मेहनतलाई धोका दिँदैन भन्ने यथार्थ हो । 

कक्षामा विद्यार्थीलाई ‘मेहनत गर्नुपर्छ’ भनेर सिकाउने दिलबहादुरले आफैँ पनि त्यही कुरा व्यवहारमा उतारिरहनु भएको छ । विद्यालयको समय सकिएपछि उहाँ घरतिर होइन, प्राय बारीतिर लाग्नुहुन्छ। बोटमा पानी पुगेको छ कि छैन, गोडमेल गर्नुपर्ने हो कि, फल टिप्ने बेला भयो कि- उहाँका लागि यी सबै पनि पढाइका विषयजस्तै हुन्।

कृषिको कुनै लामो औपचारिक तालिम लिनु भएको छैन उहाँले  तर, बारीले उहाँलाई हरेक दिन नयाँ पाठ पढाइरहेको छ।

कुनै किसानको सफलताको कथा लेख्दा प्रायः किसानको नाम मात्रै अगाडि आउँछ। तर, दिलबहादुरको बारीमा उहाँको सफलताको अर्को महत्त्वपूर्ण पात्र पनि हुनुहुन्छ-उहाँकी श्रीमती। उहाँ विद्यालयमा हुँदा बारीको जिम्मेवारी श्रीमतीले सम्हाल्नु हुन्छ। गोडमेल, मल, पानीदेखि दैनिक स्याहारसम्ममा उहाँको निरन्तर साथ छ।

छोराछोरी पनि अब बारीसँग अपरिचित छैनन्। पढाइबाट फुर्सद पाएको समय उनीहरू पनि बोटबिरुवाको स्याहारमा बिताउन थालेका छन्। यसरी एउटा परिवारले एउटा बारीलाई केवल आम्दानीको स्रोत बनाएको छैन, त्यसलाई आफ्नो साझा सपनाको ठाउँ बनाएको छ । 

दिलबहादुरको सपना ड्रागनको फलसँगै सकिँदैन। उहँको बारीमा कागती छन्। अनार छन्। अम्बा छन्। भूइँकटहर छन्। विभिन्न जातका आँपका बिरुवा छन्। एउटै जमिनबाट फरक–फरक बाली लिन सकिन्छ भन्ने सोच उहाँको खेतीमा देखिन्छ।

केही आँपका बोटले फल दिन सुरु गरिसकेका छन्। महँगा तथा विदेशी जातका आँपका बिरुवाले आगामी वर्षहरूमा राम्रो उत्पादन दिने उहाँको अपेक्षा छ।

आज ड्रागनले आम्दानी दिइरहेको छ। भोलिका दिनमा आँप र अन्य फलफूलले त्यसमा थपिनेछन् । अर्थात्, उहाँको बारी आजको आम्दानीमा मात्र होइन, भोलिको सम्भावनामा पनि लगानी गरिरहेको छ।

किसानको हातमा फल लाग्नु एउटा सफलता हो। त्यो फल ग्राहकको हातसम्म पुग्नु अर्को सफलता। दिलबहादुरको उत्पादनले दुवै बाटो पार गरिरहेको छ।

मन्थलीका ग्राहकहरू उहाँको ड्रागन खोज्दै बारीसम्म पुग्ने गरेका छन्। गुणस्तर राम्रो भएकाले प्रतिकेजी तीन सय रुपैयाँमा बिक्री भइरहेको छ। उहाँको उत्पादनको गन्तव्य मन्थलीमा मात्रै सीमित छैन। काठमाडौंसम्म पुग्न थालेको छ । 

बजारको माग बढ्दै गएपछि उहाँ खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ । उहाँलाई उत्पादन कहाँ बेच्ने भन्ने समस्या छैन । बरु प्रश्न छ-बजारको माग धान्न उत्पादन कसरी बढाउने ?

दिलबहादुरसँग कृषि विषयको कुनै प्रमाणपत्र छैन। लामो तालिमको सूची पनि छैन। तर, उहाँको अगाडि एउटा जीवित प्रमाण छ- हरियो बगैँचा । उहाँले किताबमा पढेर मात्र कृषि सिकेको होइन। बोट हेरेर सिक्नुभयो, गल्ती गरेर सिक्नुभयो, मौसम बुझेर सिक्नुभयो,  समस्या आउँदा उपाय निकालेर सिक्नुभयाे । 

दिलबहादुरका लागि कृषि पैसा कमाउने माध्यम मात्रै होइन। यो आफ्नो जमिनसँग सम्बन्ध गाँस्ने माध्यम पनि हो।

खहरेको छेउमा रहेको त्यो पाखो, जसलाई कुनै समय खासै महत्त्व दिइएन, अहिले उहाँको परिवारको आशाको केन्द्र बनेको छ।

ड्रागनका बोटमा झुण्डिएका फलहरू उहाँको तीन वर्षको मेहनतका परिणाम हुन्। आँपका नयाँ पालुवाहरू भविष्यका सङ्केत हुन्। भूइँकटहरका बोट आजको मेहनतको प्रतिफल।

दिलबहादुरको कथा एउटा शिक्षकले खेती गरेको सामान्य कथा होइन। यो सम्भावना देख्ने आँखाको कथा हो, बाँझो देखिएको जमिनमा पनि जीवन खोज्ने हिम्मतको कथा हो, आफ्नो पेसाभन्दा बाहिर पनि आफूलाई चिनाउन सकिन्छ भन्ने आत्मविश्वासको कथा हो र सबैभन्दा महत्त्वपूर्ण- यो माटोले कहिल्यै मेहनतलाई धोका दिँदैन भन्ने यथार्थ हो । 

जसरी दिलबहादुरले विद्यार्थीलाई सिकाउनु हुन्छ- ज्ञानले जीवन बदल्न सक्छ, त्यसरी नै उहाँको बारीले अर्को पाठ सिकाइरहेको छ-जमिन रुखो वा  सानो हुनु समस्या होइन, मन रुखो हुनु र  सपना सानो हुनु मात्र समस्या हो।

खहरे छेउको त्यो पाखोमा अहिले ड्रागन मात्रै फलेको छैन।एक शिक्षकको सपना फलेको छ, परिवारको आशा फलेको छ र मेहनतमा विश्वास गर्ने एउटा सुन्दर भविष्य फलेको छ।