जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार २१:३४

चिनियाँ रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट


काठमाडौं, साउन २६ सञ्चार उपग्रह बोकेको चिनियाँ ‘लङ मार्च–सेभेन ए’ रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको छ।

चीनको दक्षिणी प्रान्त हाइनानस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार सोमबार राति ८ बजेर २ मिनेटमा प्रक्षेपण गरिएको रकेट आकाशमै विस्फोट भएको हो।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार रकेटमा उडानका क्रममा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण असफल भएको हो। सार्वजनिक भएका भिडियोमा रकेट प्रक्षेपण भएको केही समयमै आकाशमा विस्फोट भएको देखिन्छ।

चीनले राष्ट्रपति सी चिनफिङले अघि सार्नुभएको ‘अन्तरिक्ष सपना’ पूरा गर्ने लक्ष्यसहित पछिल्ला वर्षमा अन्तरिक्ष कार्यक्रमका लागि ठूलो लगानी गर्दै आएको छ। पछिल्लो प्रक्षेपण असफल भएपछि चीनको तीव्र रूपमा अघि बढिरहेको अन्तरिक्ष कार्यक्रममाथि पुनः ध्यानाकर्षण भएको छ।

चीनले सन् २०३० अघि चन्द्रमामा अन्तरिक्षयात्री पठाउने लक्ष्य राखेको छ। ‘लङ मार्च–सेभेन ए’ रकेटको प्रक्षेपण असफल भएको यो पहिलो घटना भने होइन। यसअघि सन् २०२० मा प्रक्षेपणका क्रममा प्राविधिक समस्या देखिएपछि यो कार्यक्रम रोकिएको थियो।

चीनले अन्तरिक्ष अनुसन्धान, मानवसहितको अन्तरिक्ष अभियान तथा चन्द्र अन्वेषणलाई आफ्नो दीर्घकालीन रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउँदै आएको छ।