जनता टाइम्स

२६ श्रावण २०८३, मंगलवार २१:३८

सिरियाका पूर्वराष्ट्रपति बसर अल–असदलाई मृत्युदण्डको सजाय


काठमाडौं, साउन २६ सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बसर अल–असदलाई युद्ध अपराध तथा मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

बीबीसीका अनुसार असद अहिले सिरियामा हुनुहुन्न। सन् २०२४ को डिसेम्बरमा उहाँको सरकार सत्ताच्युत भएपछि असद परिवारसहित राजधानी दमास्कसबाट रुसको मस्को भाग्नुभएको थियो। यससँगै सिरियामा पाँच दशकदेखि कायम असद परिवारको शासन अन्त्य भएको थियो।

सिरियाका नयाँ अधिकारीहरूले रुसबाट असदलाई सुपुर्दगी गराउन सक्ने वा नसक्नेबारे भने स्पष्ट भइसकेको छैन।

अदालतले युद्ध अपराध तथा मानवताविरुद्धको अपराधमा असदका नातेदार तथा दक्षिणी सिरियाको दारा प्रान्तका राजनीतिक सुरक्षा विभागका पूर्वप्रमुख आतिफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाएको छ।

दारालाई असद शासनविरुद्धको विद्रोह सुरु भएको स्थानका रूपमा लिइन्छ। सन् २०११ को मार्चमा सरकारविरोधी नारा लेखेको आरोपमा केही किशोरलाई पक्राउ गरी यातना दिइएपछि दारा सहरमा विरोध प्रदर्शन सुरु भएका थिए।

प्रदर्शनमाथि सुरक्षा फौजले गरेको हिंसात्मक दमनपछि आन्दोलन सिरियाभर फैलिएको थियो। पछि यही आन्दोलन गृहयुद्धमा परिणत हुँदा हजारौँ मानिसले ज्यान गुमाएका थिए।

यस वर्षको सुरुवातमा सिरियाको अन्तरिम सरकारले असद शासनसँग जोडिएका अधिकारीविरुद्ध कानुनी कारबाही अघि बढाएको थियो।

असदविरुद्ध नयाँ नेतृत्वले गरेको यो पहिलो कानुनी कारबाही भने होइन। हत्या तथा यातनाको आरोपमा गत डिसेम्बरमै उहाँविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।