जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०७:५४

बाढी–पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडक एकतर्फी सञ्चालन


काठमाडौं, साउन २८ । बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरणअनुसार केही सडक एकतर्फी सञ्चालनमा छन् भने केही पूर्ण रूपमा बन्द छन् ।

कोशी प्रदेशको भोजपुरस्थित मध्यपहाडी लोकमार्गको बोखिममा बाढीका कारण सडक एकतर्फी सञ्चालनमा छ । इलामको राजदुवालीमा भने अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड पनि पूर्ण रूपमा बन्द छ ।

गण्डकी प्रदेशका बागलुङको कालीगण्डकी करिडोर र लमजुङको मध्यपहाडी लोकमार्गमा पहिरो खसे पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, रुकुम पूर्वको काडाबगरमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग तथा रुकुम पश्चिमको रिजेगार्ड खोलामा बाढी आएपछि भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।

अवरुद्ध सडकमा पहिरो पन्छाउने तथा यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।