जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०८:१२

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघकाे गम्भीर आपत्ति, तत्काल रिहा गर्न अध्यक्ष शर्माको माग 


काठमाडौं, साउन २८ । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गर्नुभएको छ।

अध्यक्ष शर्माले सञ्चारमाध्यममा प्रकाशित समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने वा सम्बन्धित सञ्चारमाध्यममा खण्डन प्रकाशित गर्ने पत्रकार आचारसंहिताको आधारभूत सिद्धान्तको पालना नगरी पत्रकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको भन्दै घटनाको घोर भर्त्सना गर्नुभएको हो।

उहाँले पत्रकार श्रेष्ठलाई कुन कारणले पक्राउ गरिएको हो भन्ने विषयमा चित्तबुझ्दो जवाफ दिन राज्य पक्षसँग माग गर्नुभएको छ। साथै, उक्त विषयलाई प्रेस काउन्सिलमार्फत समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ।

अध्यक्ष शर्माले पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न जोडदार माग गर्दै संविधान र कानुनी राज्यको पालना गर्नु राज्य संयन्त्रको कर्तव्य भएको बताउनुभएको छ। उहाँले लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र प्रेसमाथिको दमन कुनै पनि हालतमा स्वीकार्य नहुने धारणा व्यक्त गर्नुभएको छ।

पछिल्लो समय सरकार सञ्चारमाध्यमलाई नियन्त्रण गर्न केन्द्रित रहेको बताउँदै उहाँले पत्रकार श्रेष्ठको गिरफ्तारीले त्यसको सङ्केत गरेको बताउनुभएको छ। स्वतन्त्र प्रेसमाथि हुने दमनविरुद्ध एकताबद्ध हुन उहाँले सञ्चारकर्मी तथा सम्बन्धित सबै पक्षसँग आह्वानसमेत गर्नुभएको छ।

श्रेष्ठलाई पक्राउ गरेको खबर थाहा पाए पछि अन्य पत्रकारसँगै प्रहरी परिसर काठमाडाैं पुग्नु भएकी शर्माले श्रेष्ठलाई पक्राउ गरेर अन्य पत्रकारलाई तर्साउने काम गरेको दाबी गर्नेुभयाे । मिडिया माथिको दमन विरुद्ध अब सडक आन्दोलनको विकल्प नभएको शर्माले स्पष्ट पार्नुभयो ।