जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०७:५३

होर्मुज जलमार्गमा अमेरिका–इरान तनाव बढ्दा विश्वव्यापी तेल आपूर्तिमा संकट


काठमाडौं, साउन २८ । अमेरिका र इरानबीचको युद्धका कारण रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज जलमार्गमा तनाव बढ्दा विश्वव्यापी तेल आपूर्तिमा गम्भीर असर पर्ने जोखिम बढेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमाथि अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गर्नुभएको छ । तर इरानले अमेरिकी माग पूरा नभएसम्म जलमार्ग बन्द रहने अडान दोहोर्‍याएको छ । इरानले युद्ध अन्त्यअघि सुरक्षा ग्यारेन्टी, आर्थिक प्रतिबन्ध फुकुवा र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य हुनुपर्ने माग राखेको छ ।

जलमार्गमा अवरोधका कारण व्यावसायिक जहाजको आवतजावत सातायताकै न्यून अवस्थामा पुगेको बताइएको छ । अमेरिकी सेनाले नाकाबन्दीपछि दर्जनौँ व्यावसायिक जहाजको मार्ग परिवर्तन गराएको जनाएको छ ।

यसैबीच, पाकिस्तानले अमेरिका र इरानबीच वार्ता गराउने कूटनीतिक पहल अघि बढाएको छ । पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वीले इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरी संवादको वातावरण बनाउन प्रयास गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार होर्मुज र बाब अल–मन्देब जलमार्गमा अवरोध जारी रहे विश्वव्यापी तेल उत्पादन दैनिक ४३ लाख ब्यारेलसम्म घट्न सक्छ । समुद्रमा अड्किएको तेल ट्यांकरबाट चुहिएको तेल ओमानको तटसम्म पुगेपछि वातावरणीय जोखिमसमेत बढेको छ ।

लाल सागरमा हुथी समूहको आक्रमणले पनि तनाव थप बढाएको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्ति तथा समुद्री व्यापारमा थप अवरोध सिर्जना हुने चिन्ता बढाएको छ ।