काठमाडौं, साउन २८। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै उहाँको तत्काल रिहाइको माग गर्नुभएको छ ।
महासचिव पोखरेलले समाचार लेखेकै वा प्रकाशित गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी कदम भएको बताउनुभएको छ ।
समाचारको विषयमा असहमति भए खण्डन, प्रेस काउन्सिल वा कानुनी उपचारका बाटा खुला हुँदाहुँदै सिधै पक्राउ गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उहाँको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले पत्रकार श्रेष्ठको निडर पत्रकारिताको प्रशंसा गर्नुभएको छ । उहाँले श्रेष्ठमाथिको गिरफ्तारीलाई गैरन्यायिक तथा प्रतिशोधपूर्ण भन्दै राज्यको कदमको भर्त्सना गर्नुभएको छ ।
पोखरेलले पत्रकार श्रेष्ठलाई निःसर्त र अविलम्ब रिहा गर्न माग गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्