जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार ०८:२६

जीपीएस जाम भए ताराबाट मार्गनिर्देशन गर्ने प्रविधि विकास गरेको चीनको दाबी


काठमाडौं, साउन २८ चीनले जीपीएस वा बेइडो जस्ता भूउपग्रह नेभिगेसन प्रणाली जाम भए पनि हाइपरसोनिक क्षेप्यास्त्रलाई ताराको अवस्थिति पहिचान गरी मार्गनिर्देशन गर्न सक्ने प्रविधि विकास गरेको दाबी गरेको छ ।

चिनियाँ वैज्ञानिकहरूले हाइपरसोनिक गतिमा उड्ने हतियारका लागि ‘स्टार सेन्सर’मा आधारित नेभिगेसन प्रणाली विकास गरेको जनाइएको छ । यो प्रविधिले ध्वनिको गतिभन्दा पाँच गुणा वा त्यसभन्दा बढी गतिमा उड्ने हाइपरसोनिक वाहनलाई ताराको अवस्थिति आधार बनाएर दिशा र स्थान पहिचान गर्न सहयोग गर्ने उद्देश्य राखेको छ ।

Image
Image
Image
Image
Image
Image

साउथ चाइना मर्निङ पोस्टका अनुसार गुआङडोङ एरोस्पेस रिसर्च एकेडेमीको नेतृत्वमा सञ्चालित परियोजनाले विशेषज्ञ समीक्षा पार गरेको छ । अनुसन्धानकर्ताहरूले हाइपरसोनिक उडानका क्रममा उत्पन्न हुने अत्यधिक ताप र प्लाज्माका कारण ताराको प्रकाश पहिचानमा आउने समस्या समाधान गर्ने प्रयास गरेका हुन् ।

हाइपरसोनिक वाहन वरिपरि उच्च तापक्रमको ‘प्लाज्मा सिथ’ बन्ने भएकाले ताराबाट आउने कमजोर प्रकाश पहिचान गर्न कठिन हुन्छ । चिनियाँ अनुसन्धानकर्ताले यसका लागि विशेष सफ्टवेयर र सेन्सर विकास गरेको बताएका छन् ।

उनीहरूका अनुसार परीक्षणमा विकिरण अवरोध नभएको अवस्थामा सेन्सरले ९९ प्रतिशतभन्दा बढी अवस्थामा ताराको ढाँचा पहिचान गरेको थियो । अत्यधिक विकिरण अवरोध भएको अवस्थामा पनि पहिचानदर ८० प्रतिशतभन्दा माथि रहेको दाबी गरिएको छ ।

यस प्रविधिले हाइपरसोनिक हतियारलाई भूउपग्रहमा आधारित नेभिगेसन प्रणालीमा निर्भरता घटाउन सक्ने सम्भावना देखिए पनि वास्तविक सैन्य प्रयोगमा यसको प्रभावकारिता थप परीक्षणबाट मात्रै पुष्टि हुने बताइएको छ ।