जनता टाइम्स

८ पुष २०७६, मंगलवार १३:४४

उपेन्द्र यादवको सत्ता यात्रा सकियो, बर्खास्तमा पर्ने भएपछि समाजवादीले गर्यो ओली सरकार छाडने निर्णय


काठमाडौं, पुस ८ । संघीय समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । आज बिहान बसेको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार छाड्ने निर्ण गरेको हो।

बैठकको निर्णयअनुसार प्रधानमन्त्री ओलीलाई भेटेर समाजवादीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले आजै राजीनामा बुझाउने बताउनु भएको छ । समाजवादीबाट यादव उपप्रधानमन्त्री तथा कानुनमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।

यादवले संबिधान संशोधन जस्तो संवेदनशील बिषयलाई कसैसँग परामर्श नै नगरी मन्त्रिपरिषदमा ठाडो प्रस्ताव ल्याएपछि सोमवार बैठकमै प्रधानमन्त्री ओलीले हप्काउनु भएको थियो । केही समयअघि प्रधानमन्त्री ओलीले यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानूनमा सारेपनि सत्तामा टाँसिएर बस्नुभएको थियो ।

ओली सरकारमा रहेपनि यादवले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कर्मचारी तथा नेता कार्यकर्तालाई निषेध गर्दै बिपक्षीसँग आर्थिक लाभ लिएर काम गर्दै आएपछि प्रधानमन्त्रीले पटक पटक संझाउनु भएको थियो ।

तर आर्थिक लाभबिना कुनै पनि काम नगर्न थालेपछि यादवलाई स्वास्थ्यबाट हटाएर कानूनमा सरुवा गरिएको थियो । कानून मन्त्रालय पुगेपछि यादव झनै उल्टो यात्रामा लागेपछि यस्तो पारा आफ्नो सरकारमा नचल्ने जनाउ दिनुभएको थियो । आफूलाई समेत जानकारी नदिई संबिधान संशोधनको ठाडो प्रस्ताव मन्त्रिपरिषदमा ल्याएपछि निकै कडा रुपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री ओलीले यादवलाई बर्खास्त गरी मन्त्रिपरिषद हेरफेर गर्ने संभावना बढेपछि सरकार छाडने निर्णय यादवले गर्नुभएको हो ।