जनता टाइम्स

२८ श्रावण २०८३, बिहीबार २०:४३

बोडेको होल्डिङ सेन्टरमा सुकुम्वासीको मृत्यु


काठमाडौँ, २८ साउन । भक्तपुरको बोडेस्थित कृषि विकास तालिम केन्द्रमा राखिएका एक सुकुम्वासी झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

परिवारसहित होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हिरालाल पासवान बिहीबार बिहान कोठाभित्र पंखामा झुण्डिएको अवस्थामा मृत भेटिएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता दीपककुमार कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले बिहान १० बजे पासवानको शव उठाएको जनाएको छ । बोडेको होल्डिङ सेन्टरमा हाल २३ परिवारका ६७ जना सुकुम्वासीलाई राखिएको बताइएको छ ।

यसअघि पनि थापाथली र बल्खुमा गरी दुई जना सुकुम्वासीले आत्महत्या गरेका थिए ।

सरकारले वैशाख १२ गते काठमाडौँका खोला किनारमा डोजर चलाएपछि विस्थापित भएका सुकुम्वासीलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको हो । १५ दिनभित्र व्यवस्थापन गर्ने भनिए पनि चार महिना बितिसक्दा समेत समस्या समाधान नभएको भन्दै उनीहरूले गुनासो गर्दै आएका छन् ।

हाल पनि १ सय १३ परिवारका २ सय ६३ जना होल्डिङ सेन्टरमै रहेको जनाइएको छ ।