जनता टाइम्स

२९ श्रावण २०८३, शुक्रबार ०७:५६

चितवनमा साउनमा ४ जनामा डेङ्गु र ३४ जनामा स्क्रब टाइफस संक्रमण


चितवन, साउन २९ । चितवनमा साउन महिनामा चार जनामा डेङ्गु र ३४ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार संक्रमितमध्ये जिल्लाका स्थानीय चार जना डेङ्गु र छ जना स्क्रब टाइफसका छन् भने बाँकी अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका हुन्।

स्थानीयतर्फ कालिका नगरपालिकाकी एक महिला र इच्छाकामना गाउँपालिकाका एक पुरुषमा डेङ्गु संक्रमण पुष्टि भएको छ। त्यस्तै, भरतपुर महानगरपालिकाका पाँच र रत्ननगर नगरपालिकाका एक जनामा स्क्रब टाइफस संक्रमण देखिएको कार्यालयले जनाएको छ।

अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका दुई जनामा डेङ्गु र २८ जनामा स्क्रब टाइफस पुष्टि भएको छ। यससँगै साउनमा जिल्लामा अभिलेख भएका डेङ्गु संक्रमितको संख्या चार र स्क्रब टाइफस संक्रमितको संख्या ३४ पुगेको हो।

जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म डेङ्गुको १७८ र स्क्रब टाइफसको २११ जनाको परीक्षण गरिएको छ। दुवै संक्रमणका कारण हालसम्म मृत्यु भने भएको छैन।

वर्षायाममा डेङ्गुको जोखिम बढ्ने भएकाले स्थानीय तहसँगको समन्वयमा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन भइरहेको भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए। इच्छाकामना गाउँपालिकाबाट सुरु गरिएको अभियान अन्य पालिकामा पनि सञ्चालन भइरहेको छ।

अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिलगायत सहभागी छन्। उनीहरूले लामखुट्टेको लार्भा खोजी नष्ट गर्नुका साथै डेङ्गुबाट बच्ने उपायबारे सचेतना फैलाइरहेका छन्।

डेङ्गुबाट जोगिन घरआँगन तथा वरपर पानी जम्न नदिन, टायर, गमला र अन्य पानी जम्ने स्थान नियमित सफा गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

त्यस्तै, स्क्रब टाइफसको जोखिमबाट बच्न घरवरपर झाडी नराख्ने तथा घाँस काट्न, खेतबारी वा जंगलमा जाँदा शरीर ढाक्ने कपडा लगाउन र किर्नाको टोकाइबाट जोगिन सावधानी अपनाउन आग्रह गरिएको छ।

ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा शरीरमा बिमिरा देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

गत आवमा पनि संक्रमण उच्च

जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म चितवनका २१६ जनामा डेङ्गु र ६२१ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो। अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामीसमेत जोड्दा डेङ्गु संक्रमितको संख्या २७४ र स्क्रब टाइफस संक्रमितको संख्या ८९३ पुगेको थियो।

गत आवमा स्थानीयतर्फ डेङ्गु संक्रमण रत्ननगरमा ८७, भरतपुरमा ५६ र खैरहनीमा ३५ जनामा देखिएको थियो। स्क्रब टाइफसका संक्रमित रत्ननगरमा २४६, खैरहनीमा ११७ र भरतपुरमा ९० जना थिए।

सो अवधिमा डेङ्गुको १० हजार ५२३ र स्क्रब टाइफसको ११ हजार ४१९ जनाको परीक्षण गरिएको थियो। उक्त अवधिमा पनि दुवै संक्रमणका कारण चितवनमा कुनै मृत्यु नभएको कार्यालयले जनाएको छ।