काठमाडौं, साउन २९ । अफगानिस्तानको उत्तरपूर्वी बदख्सान प्रान्तको राजधानी फैजाबादका नगर प्रमुख हबिब उर रहमान मन्सुर बम आक्रमणमा मारिएका छन्।
बिहीबार भएको आक्रमणमा मन्सुर सवार सवारीसाधनलाई लक्षित गरी विस्फोट गराइएको थियो। अस्पताल र नगरपालिका स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले मन्सुरको मृत्यु भएको जनाएको छ।
आक्रमणको जिम्मेवारी नेसनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) ले लिएको समाचारमा उल्लेख छ। एनआरएफले सामाजिक सञ्जाल एक्समार्फत नगर प्रमुखको सवारीसाधनलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ।
मन्सुरको हत्या बदख्सान प्रान्तमा दुई साताभित्र मारिएका दोस्रो स्थानीय अधिकारी हुन्। यसअघि प्रान्तीय सूचना तथा संस्कृति विभागका प्रमुख जबिउल्लाह अमिरीलाई गोली हानी हत्या गरिएको थियो। उक्त घटनाको जिम्मेवारी इस्लामिक स्टेट–खोरासानले लिएको थियो।
बदख्सानमा पछिल्लो समय तालिबान सरकारविरुद्ध सशस्त्र समूहका गतिविधि र सुरक्षा चुनौती बढेको देखिएको छ। सन् २०२६ मा प्रान्तमा राजनीतिक हिंसा बढेको र तालिबानविरोधी समूह तथा इस्लामिक स्टेट–खोरासानका गतिविधि देखिएको द्वन्द्वसम्बन्धी विश्लेषणहरूले उल्लेख गरेका छन्।













प्रतिक्रिया दिनुहोस्