काठमाडौं, साउन ३१। दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले उत्तर कोरियासँग दशकौँदेखि प्राविधिक रूपमा जारी रहेको युद्ध औपचारिक रूपमा अन्त्य गर्ने विषयमा वार्ता गर्न प्रस्ताव गर्नुभएको छ ।
दक्षिण कोरियाको मुक्ति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले दुई देशबीचको तनाव कम गर्न प्रत्यक्ष संवाद सुरु गर्न आह्वान गर्नुभएको हो ।
उहाँले गैरसैन्यीकृत क्षेत्रमा हुने सम्भावित मुठभेड रोक्न ‘बहुस्तरीय सुरक्षा प्रणाली’ निर्माण गर्नुपर्ने प्रस्तावसमेत गर्नुभएको छ । साथै, उत्तर कोरियाको परमाणु क्षमताको विकास रोक्ने व्यावहारिक उपायबारे छलफल गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
उत्तर कोरियाले परमाणु हतियार बोक्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गर्दै आएको छ । ती परीक्षणलाई दक्षिण कोरिया र जापानमाथि दबाब सिर्जना गर्ने तथा आफ्नो सैन्य क्षमता प्रदर्शन गर्ने प्रयासका रूपमा हेरिँदै आएको छ ।
सन् १९५३ मा युद्धविराम सम्झौता भएपछि कोरियाली प्रायद्वीपमा दुई देशबीच प्रत्यक्ष युद्ध रोकिएको भए पनि शान्ति सन्धि भने भएको छैन । त्यसैले दुवै देश प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा रहेका छन् ।
राष्ट्रपति लीले एक–अर्कालाई धम्की दिने नीति त्याग्दै लामो समयदेखि जारी युद्ध अन्त्यका लागि प्रत्यक्ष संवाद सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक विकासका लागि दुवै देश प्रत्यक्ष वार्तामा बस्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
उत्तर कोरियाले राष्ट्रपति लीको पछिल्लो प्रस्तावबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले भने नेता किम जोङ उनले आफ्नै देशको मुक्ति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएको जनाएको छ ।
उत्तर कोरियाले यसअघि पनि राष्ट्रपति लीका संवाद र सहकार्यसम्बन्धी प्रस्ताव अस्वीकार गर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्