जाजरकोट, साउन ३१ । चार जनाको ज्यान जाने गरी आएको बाढीपहिरोका कारण उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
रिसाङ क्षेत्रका करिब ७० घरपरिवारका दुई सय जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा राख्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
जोखिममा रहेका नागरिकको सुरक्षा तथा उद्धारका लागि प्र.स.नि. प्रेमबहादुर फौजाको कमाण्डमा १० जना प्रहरीको टोली परिचालन गरिएको छ ।
उद्धार तथा सुरक्षित स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन् ।
जोखिमयुक्त क्षेत्रबाट करिब दुई सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक बासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेकाले स्थानीयवासीलाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ ।
नेपाल प्रहरीले विपद्का समयमा नागरिकको सुरक्षा, उद्धार तथा सहयोगका लागि निरन्तर टोली परिचालन गरिरहेको जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्