जनता टाइम्स

३१ श्रावण २०८३, आईतवार १७:५७

भाटभटेनी सुपरस्टोर सोमबारदेखि चौबिसै घण्टा खुल्ने


काठमाडौं, साउन ३१ । भाटभटेनी सुपरस्टोरले भक्तपुरको राधेराधेस्थित स्टोर सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याउने भएको छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार ग्राहकको सुविधा र काठमाडौं उपत्यकाको यातायात चापलाई ध्यानमा राख्दै भक्तपुरबाट चौबिसै घण्टा सेवा सुरु गर्न लागिएको हो ।

भक्तपुरको स्टोर सञ्चालनमा आएको एक सातापछि ललितपुरको कृष्णगल्लीस्थित स्टोर र भदौ तेस्रो सातापछि काठमाडौंको टंगालस्थित स्टोर पनि चौबिसै घण्टा सञ्चालनमा ल्याउने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

चौबिसै घण्टा सञ्चालन हुने स्टोरको पहिलो तला मात्र खुला रहनेछ । त्यहाँ ग्रोसरी सामग्री मात्र बिक्री गरिनेछ ।

उपत्यकाका तीनवटै स्टोर चौबिसै घण्टा सञ्चालनमा आएपछि पोखराको एक स्टोरलाई पनि सोहीअनुसार सञ्चालन गर्ने योजना रहेको पौडेलले बताउनुभयो ।

रातको समयमा समेत सेवा सञ्चालन हुने भएकाले भाटभटेनीले सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जनाएको छ । यसबारे प्रहरी प्रशासनलाई समेत जानकारी गराइएको छ ।

४२ वर्षअघि व्यवसायी मिनबहादुर गुरुङले काठमाडौंको टंगालबाट सुरु गर्नुभएको भाटभटेनीका हाल देशभर २७ वटा स्टोर सञ्चालनमा छन् । कम्पनीमा २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।