कैलाली, भदौ १ । सुदूरपश्चिम प्रदेशमा आज वल्के तथा गुरही पर्व हर्षोल्लासका साथ मनाइँदैछ।
भदौ सङ्क्रान्तिका दिन मनाइने वल्के पर्वलाई ‘कोसेली’ अर्थात् उपहार दिने पर्वका रूपमा लिइन्छ। पर्वको अवसरमा बिहानै नुहाइधुवाइ गरी मान्यजन, इष्टमित्र तथा छरछिमेकीलाई दूध, दही, पिँडालुको कलिलो पात ‘गाभा’ तथा हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद लिने परम्परा छ।
वल्के पर्वका अवसरमा विवाहिता छोरीलाई माइतीघरमा बोलाएर स्थानीय परिकार खुवाउने चलनसमेत रहेको धनगढीका हीरालाल जोशीले बताउनुभयो। गाउँघरमा गोरस, दूध, दही र मही बाँड्ने परम्परा पनि रहेको उहाँले जानकारी दिनुभयो।
पर्वको अवसरमा युवायुवती भेला भएर पिङ खेल्ने, देउडा तथा ठाडी भाका गाउनेलगायतका सांस्कृतिक गतिविधि गर्ने चलन छ। पछिल्लो समय भने सहरी क्षेत्रमा यस्ता परम्परा हराउँदै गएको स्थानीय बताउँछन्।
यसैगरी, पश्चिम तराईका थारु समुदायले आजै गुरही पर्व पनि मनाउँदैछन्। धनगढीमा सखी सञ्जाल कैलालीको आयोजना तथा विभिन्न थारु सङ्घसंस्थाको सहकार्यमा गुरही पर्व मनाउने तयारी गरिएको छ।
थारु समुदायमा गुरहीलाई एक प्रकारको कीराको प्रतीकका रूपमा लिइन्छ। गाउँघरमा रोगव्याधि तथा नकारात्मक शक्तिलाई हटाउने सांस्कृतिक विश्वासका साथ गुरही पर्व मनाउने परम्परा रहेको सखी सञ्जाल कैलालीकी अध्यक्ष सानु चौधरीले बताउनुभयो।
पर्वमा बालबालिका तथा दिदीबहिनीले कपडाको गुडिया बनाएर गाउँको चोकमा सेलाउने र पुरुषहरूले त्यसलाई लठ्ठीले पिट्दै रोगव्याधि तथा नराम्रो कुरा हटोस् भन्ने कामना गर्ने चलन छ।
गुरही सेलाउने कार्यपछि गेडागुडी तथा भुजा आपसमा बाँडेर खाने, नाचगान गर्ने र रमाइलो गर्ने परम्परा रहेको छ। गुरही पर्वलाई थारु समुदायमा नयाँ पर्वचक्रको सुरुवातका रूपमा समेत लिइन्छ।
पर्वको अवसरमा कैलालीका विभिन्न स्थानीय तहले आज सार्वजनिक बिदासमेत दिएका छन्।














प्रतिक्रिया दिनुहोस्