काभ्रेपलाञ्चोक, भदौ १। खानीखोला गाउँपालिका–१ स्याउरथलीमा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका तीन जनाको उद्धारमा समस्या भएको छ। बाक्लो कुहिरोका कारण हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गर्न नसकेपछि उद्धारमा कठिनाइ भएको हो।
सोमबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा खानीखोला–४ का कलकबहादुर माझी र खानीखोला–२ की पातलीमाया मोक्तान रहेका छन्।
गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार घाइतेको उद्धारका लागि हेलिकप्टर व्यवस्थापन गरिए पनि बाक्लो कुहिरोका कारण तत्काल अवतरण गर्न सकिएको छैन।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बेथानचोक–५ स्थित कामीडाँडाबाट हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्ने प्रयास भइरहेको छ। नेपाली सेनाले समेत उद्धारका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ।
प्रहरीले जिपको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। दुर्घटनामा घाइते तीन जनाको पहिचान खुल्न बाँकी छ।














प्रतिक्रिया दिनुहोस्