जनता टाइम्स

९ पुष २०७६, बुधबार ०८:१४

धरहरा पुनर्निर्माणको ३२ प्रतिशत काम सम्पन्न : एक वर्षभित्रै धरहरा चढ्न पाइने


काठमाडौ, पुस ९ ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ऐतिहासिक धरहरा पुनर्निर्माणको काम सन्तोषजनक रहेको बताउनुभएको छ ।

धरहराको पुनर्निर्माणबारे स्थलगत अवलोकनको क्रममा मंगलबार प्रमुख ज्ञवालीले अहिलेकै अनुरूप काम भए तोकिएकै समयमा निर्माण सम्पन्न हुने भन्दै उत्साहपूर्वक काम गर्न निर्देशन दिनुभयो । उहाँले अबको एक वर्षभित्रै धरहरा चढ्न पाइने विश्वास दिलाउनुभयो ।

त्यही अवसरमा प्रमुख ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले अहिलेसम्म ३२ प्रतिशत काम सम्पन्न भएको र त्यसका लागि ७५ करोड रुपैयाँ खर्च भएको जानकारी गराउनुभयो ।

भूकम्प गएको तीन वर्षपछि धरहरा निर्माणको कामले गति लिएको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनर्निर्माण सुरु गरेको छ । निर्माणको लागि जम्मा तीन अर्ब ४८ करोड रुपैयाँ लाग्ने जनाइएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गएको पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । उहाँले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट निर्माण गर्नुपर्ने बताउनुभएको थियो ।

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ दुई वटा लिफ्ट पनि हुनेछ । एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ दुई वटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । अब बन्ने धरहरा अत्याधुनिक र सुविधासम्पन्न हुनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । विसं १९९० को भूकम्पको कारण ११ तले धरहरा क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको थियो ।धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतको सुविधा हुनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ताले सवारी साधनको व्यवस्थित पार्किङ गर्न सक्नेगरी पुनर्निर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाण्डौलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनर्निर्माण अत्यावश्यक भएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टको साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । यहाँ तीन सय ५० गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।