जनता टाइम्स

९ पुष २०७६, बुधबार ११:३५

राष्ट्रियसभा निर्वाचन : ११ दललाई चुनाव चिह्न प्रदान, सात जिल्ला न्यायाधीशलाई तोकियो निर्वाचन अधिकृृत


काठमाडौं, पुस ९ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ ओटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आगामी माघ ९ गते निर्वाचन हुँदैछ ।

आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सूर्य, नेपाली काँग्रेस रुख, समाजवादी पार्टी पाँच औँलासहितको हत्केला, राष्ट्रिय जनता पार्टी नेपाल ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चुनाव चिह्न प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) हलो, राष्ट्रिय जनमोर्चा गिलास, नेपाल मजदुर किसान पार्टी मादल, नेपाल सङ्घीय समाजवादी पार्टी बस, नेपाली जनता दल गोरुगाडा चक्का (पाङ्ग्रो) र इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्र्याक्टर निर्वाचन चिह्न प्राप्त गरेको आयोगले मंगलबार जनाएको छ ।

यसैबीच आयोगले उक्त निर्वाचनका सन्दर्भमा सात जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृृत र दुई जना न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ । आयोगका अनुसार मोरङका मेदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललितपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिनुभएको छ । त्यस्तै जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुवेदी र दिवाकर भट्टलाई तोकिएको छ । न्याय परिषद्को परामर्शमा आयोगले उहाँहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।