काठमाडौं, भदौ ९ । चीनको पूर्वी सहर हाङझाउमा ट्राफिक व्यवस्थापनका लागि ‘रोबोकप’ परिचालन गरिएको छ।
६ फिट २ इन्च अग्लो र ९८ किलोग्राम तौलको ‘टी–२’ नामक रोबोट स्थानीय प्रविधि कम्पनी सुपकन इन्फर्मेशनले विकास गरेको हो। ट्राफिक प्रहरीका दोहोरिइरहने केही कामलाई स्वचालित प्रणालीमार्फत व्यवस्थापन गर्ने परीक्षण परियोजनाअन्तर्गत रोबोट परिचालन गरिएको हो।
कम्पनीका अनुसार रोबोकपले क्यामेरा, राडार र आन्तरिक कम्प्युटिङ प्रणालीको प्रयोग गरी हेल्मेट नलगाएका चालक, यात्रु बोकेका विद्युतीय बाइक, ट्राफिक रेखा पार गरेर रोकिएका सवारीसाधन तथा ट्राफिक संकेत उल्लङ्घन गर्ने पैदलयात्रीको पहिचान गर्न सक्छ।
त्यसैगरी, रोबोटले सडक, पार्किङ तथा ट्राफिक नियमसम्बन्धी प्रश्नको जवाफ दिनुका साथै आपत्कालीन सुविधामार्फत प्रयोगकर्तालाई स्थानीय प्रहरीसँग सम्पर्क गराउन सक्ने जनाइएको छ।
सुपकनले गत मेदेखि हाङझाउमा १५ वटा रोबोट परिचालन गरेको जनाएको छ। ती रोबोटले हालसम्म १ लाख ७० हजारभन्दा बढी चेतावनी जारी गरेको र हेल्मेट नलगाई सवारी चलाउने तथा रोक्ने रेखा पार गर्ने घटनामा मासिक ४० प्रतिशतभन्दा बढी कमी ल्याउन सहयोग गरेको कम्पनीको दाबी छ।
कम्पनीले पर्यटकीय क्षेत्र, विद्यालय क्षेत्र, व्यापारिक क्षेत्र, अत्यधिक भीडभाड हुने स्थान तथा प्रतिकूल मौसममा समेत रोबोटको परीक्षण गरिरहेको जनाएको छ।
यद्यपि, चर्को घाम, वर्षा तथा अत्यधिक तापक्रमका कारण क्यामेरा र राडारको कार्यक्षमता प्रभावित हुन सक्ने बताइएको छ। सुपकनका अनुसार नियम उल्लङ्घन पहिचान गर्ने रोबोटको सटीकता भने ९५ प्रतिशतभन्दा बढी छ।
कम्पनीका अनुसार चीनका तीन प्रान्तका आठ सहरमा हाल करिब ५० वटा यस्ता रोबोट सञ्चालनमा छन्। वर्षको अन्त्यसम्ममा यो संख्या करिब २०० पुर्याउने लक्ष्य कम्पनीले राखेको छ।














प्रतिक्रिया दिनुहोस्