जनता टाइम्स

९ पुष २०७६, बुधबार १८:०७

मुख्यमन्त्री राईले सुनाए दश वर्षभित्र प्रदेश १ ले हरेक क्षेत्रमा समृद्धि हाँसिल गर्ने यस्तो योजना


झापा, पुस ९ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवले सघाउ पुर्याउने बताउनु भएको छ । मेची उद्योग वाणिज्य संघले झापाको धुलाबारीमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो भनाई राख्नुभएको हो ।

पर्यटन भ्रमण वर्ष २०२० लाई सार्थकता प्रदान गर्न महोत्सवको भूमिका महत्वपूर्ण रहने आफ्नो निश्कर्ष पनि उहाँले सुनाउनु भयो । प्रदेश एकलाई देशकै नमूना र समृद्ध प्रदेशको रुपमा विकास गर्न लागिएको चर्चा गर्दै उहाँले आगामी १० वर्षभित्रमा प्रदेश १ ले हरेक क्षेत्रमा समृद्धि हाँसिल गर्ने बताए । सरकारले सुरु गरेको नयाँ नेपाल निर्माणको अभियानलाई साकार बनाउन तीनै तहको सरकार क्रियाशील भएर लागेको उल्लेख गर्दै मुख्यमन्त्री राईले आगामी ५ वर्षभित्रमा प्रदेश १ मा १५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गर्ने र १० वर्षभित्रमा बेरोजगारी समस्या अन्त्य गर्ने ठोकुवा गर्नुभयो ।

कृषि तथा पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले २० करोड रुपैयाँ विनियोजन गरेको बताउँदै उहाँले निजी क्षेत्रको सहकार्यमा प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो । मुख्यमन्त्री राईले महोत्सवले उद्योग, पर्यटन तथा कृषिमा योगदान पुर्याउने भन्दै आयातलाई प्रतिस्थापन गर्ने गरी स्वदेशी उत्पादन बढाउन आग्रह गर्नुभयो । निर्यातमा देखिएका जटिलतालाई सरकारले नीतिगत रुपमै निर्णय गरेर समाधान गर्ने उहाँको भनाई थियो ।

पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा आयोजित महोत्सव उद्घाटनका क्रममा हेलिकप्टर उडाएर आकाशबाट कार्यक्रमस्थल परिसरमा पुष्पवृष्टि गरिएको थियो । उद्घाटन समारोहमा प्रदेशसभा सदस्य गोपाल बुढाथोकी, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मेला उत्सव समितिका संयोजक दिलसुन्दर श्रेष्ठ, महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्रकुमार खड्का, नेपाली काँग्रेस झापाका उपसभापति राम कट्टेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संघका अध्यक्ष ऋषिराज तिम्सिनाको अध्यक्षतामा सम्पन्न महोत्सवको उद्घाटन सत्रमा महोत्सव आयोजक समिति संयोजक भूमि पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । सो कार्यक्रमको सञ्चालन संघका महासचिव ध्रुव कनालले गर्नुभएको थियो । महोत्सव आगामी पुस १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । विभिन्न वस्तु तथा सेवाका २ सय १० वटा स्टल राखिएको महोत्सवमा १४ वटा बंगलादेशका, ५ वटा भारतका र दुईवटा पाकिस्तानका स्टल छन् । महोत्सवको मुख्य प्रायोजकमा एशियन थाई फुड्सको उत्पादन रमपम तयारी चाउचाउ छ भने मेचीनगर नगरपालिका प्रमुख संरक्षक रहनुभएको छ ।