काठमाडौं, भदौ १२ । भोटेकोसी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवाको उत्तरगया गाउँपालिकामा मानवीय तथा भौतिक क्षतिको भयावह अवस्था सिर्जना गरेको छ। बाढीले बस्ती, सडक, पुल, विद्युत् तथा सञ्चार संरचना तहसनहस पारेपछि गाउँपालिकाका कैयौँ क्षेत्र बाहिरी संसारसँग पूर्णरूपमा विच्छेद भएका छन्।
बाढी प्रभावित क्षेत्रमै रहेर उद्धार तथा राहतको काममा खटिनुभएका उत्तरगया गाउँपालिका अध्यक्ष माधव अर्यालका अनुसार अझै ठुलो सङ्ख्यामा मानिसहरू बेपत्ता छन्। कतिपय क्षेत्रमा नदी किनारमा शवहरू थुप्रिएका छन् भने कतिपय परिवार आफ्ना आफन्त जीवित छन् कि छैनन् भन्ने अन्योलमा दिन बिताउन बाध्य छन्।
अध्यक्ष अर्यालका अनुसार बाढीको सूचना प्रवाह तथा उद्धारमा खटिनुभएका चार जना कर्मचारी अझै बेपत्ता हुनुहुन्छ। सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको भने पहिचानपछि अन्त्येष्टि गरिएको छ। गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु विकसहित केही शिक्षकसँग पनि अझै सम्पर्क हुन नसकेको उहाँले जानकारी दिनुभएको छ।
उहाँका अनुसार बेत्रावती बजार, कैदलेटार, पैरेबेसी, सल्लेटार र मैलुङलगायतका क्षेत्रमा अकल्पनीय क्षति भएको छ। भूकम्पपछि ११ वर्षदेखि अस्थायी बसोबास गर्दै आएका करिब ३०० घरपरिवार रहेको क्षेत्रमा समेत बाढीले ठुलो विनाश गरेको छ।
“खोलाको किनारमा ५०औँ शवहरू देखिन्छन्, परिवारका सदस्यहरूले पहिचान गरेका शवहरू दाहसंस्कार गर्न फिल्डमा रहेका प्रहरीसँग समन्वय गर्दा ‘माथिको आदेशबाहेक केही गर्न मिल्दैन’ भन्ने जवाफ पाइन्छ,”
त्यसैगरी त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत ठुलो सङ्ख्याका कर्मचारी तथा कामदार र माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कोरियन, चिनियाँ, भारतीय तथा नेपाली कामदारमध्ये धेरैजना सम्पर्कविहीन रहेको उहाँले बताउनुभएको छ। केही मानिस सुरुङभित्र फसेको खबरसमेत आइरहेको उहाँको भनाइ छ।
गोसाइँकुण्ड तथा मानसरोवर यात्रामा निस्किएका धेरै यात्रुहरूसमेत सम्पर्कविहीन रहेको अध्यक्ष अर्यालले बताउनुभएको छ। आफन्तहरूले निरन्तर फोन गरेर आफ्ना परिवारका सदस्यको अवस्था पत्ता लगाइदिन हारगुहार गरिरहेको उहाँले बताउनुभयो।
‘खोलाको किनारमा ५०औँ शव छन्, तर अन्त्येष्टिका लागि पनि माथिको आदेश चाहिन्छ’
बाढीले सबैभन्दा बढी विचलित बनाएको दृश्य नदी किनारमा देखिएको शवको अवस्था रहेको अध्यक्ष अर्यालले बताउनुभएको छ। उहाँका अनुसार नदी किनारमा ५०औँ सङ्ख्यामा शव देखिएका छन्। आफन्तले पहिचान गरेका शवको अन्त्येष्टि गर्नसमेत स्थानीय तह र सुरक्षाकर्मीले तत्काल निर्णय गर्न नसक्ने अवस्था रहेको उहाँको गुनासो छ।
“खोलाको किनारमा ५०औँ शवहरू देखिन्छन्, परिवारका सदस्यहरूले पहिचान गरेका शवहरू दाहसंस्कार गर्न फिल्डमा रहेका प्रहरीसँग समन्वय गर्दा ‘माथिको आदेशबाहेक केही गर्न मिल्दैन’ भन्ने जवाफ पाइन्छ,” अध्यक्ष अर्यालकाे गुनासाे छ।
“मरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सबै निकायमा समन्वय गरेर हेलिकप्टरको प्रतीक्षा गर्दा पनि कुनै सुनुवाइ भएन। अन्ततः कालिकास्थान–जिवजिवे अस्पताल हुँदै १० घण्टापछि धुञ्चे अस्पताल लैजानुपर्ने अवस्था हामीले भोग्यौँ,”
शवहरू कुहिन थालेपछि गाउँमा दुर्गन्ध फैलिएको र यसले थप स्वास्थ्य सङ्कट निम्त्याउन सक्ने उहाँले बताउनुभएको छ। तत्काल शव व्यवस्थापन नगरे सङ्क्रमण फैलिन सक्ने जोखिम रहेको उहाँको चेतावनी छ।
घाइतेलाई अस्पताल पुर्याउन १० घण्टा, हेलिकप्टरको प्रतीक्षा व्यर्थ
बाढीका कारण सडक सम्पर्क पूर्णरूपमा विच्छेद भएपछि गम्भीर घाइते तथा बिरामीको उद्धार झनै कठिन बनेको छ।
अध्यक्ष अर्यालका अनुसार मरणासन्न अवस्थामा रहेका घाइतेको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित सबै निकायसँग समन्वय गर्दै हेलिकप्टर माग गरिए पनि समयमा उद्धार हुन सकेन ।“मरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सबै निकायमा समन्वय गरेर हेलिकप्टरको प्रतीक्षा गर्दा पनि कुनै सुनुवाइ भएन। अन्ततः कालिकास्थान–जिवजिवे अस्पताल हुँदै १० घण्टापछि धुञ्चे अस्पताल लैजानुपर्ने अवस्था हामीले भोग्यौँ,” उहाँले भन्नुभएको छ।
बाढीले ठुलो सङ्ख्यामा सुरक्षाकर्मीसमेत बेपत्ता भएको उहाँको भनाइ छ। बाँकी रहेका कालिकास्थानका प्रहरी निरीक्षकसहित करिब पाँच–छ जना प्रहरी खाना र पानीको अभावबीच निरन्तर खटिनुपरेको उहाँले बताउनुभयो।
‘संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ’
राज्यका उच्च तहबाट राहत, उद्धार र सहयोग भइरहेको दाबी सार्वजनिक भइरहे पनि प्रभावित क्षेत्रका नागरिकले त्यसको प्रत्यक्ष अनुभूति गर्न नसकेको अध्यक्ष अर्यालको गुनासो छ।
“सहकारी कार्यालयको ब्याकअपबाट मोबाइल चार्ज गरेर सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोष्ट पढेँ, हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ, मैले अघि नै भनेँ, केही क्षेत्रमा बाहेक विपद्को अवस्थामा जनताले अनुभूति गर्ने गरी कुनै काम भएको छैन,”
विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कसमेत प्रभावित भएको र सञ्चार सम्पर्क टुटेको उहाँले बताउनुभयो। सहकारी कार्यालयको ब्याकअपबाट मोबाइल चार्ज गरी सामाजिक सञ्जाल हेर्दा संघीय सरकारका गतिविधि देखिए पनि घटनास्थलमा त्यसको अनुभूति नभएको उहाँको टिप्पणी छ।
“सहकारी कार्यालयको ब्याकअपबाट मोबाइल चार्ज गरेर सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोष्ट पढेँ, हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ, सामाजिक सञ्जालमा देखिन्छ, मैले अघि नै भनेँ, केही क्षेत्रमा बाहेक विपद्को अवस्थामा जनताले अनुभूति गर्ने गरी कुनै काम भएको छैन,” उहाँकाे गुनासाे छ ।
उहाँले आफू घटनास्थलमै रहेर जनताको दुःख, पीडा र आवश्यकताको प्रत्यक्ष साक्षी बनेको बताउँदै आफूले उठाएको प्रश्न राजनीतिक आरोप नभई पीडितको आवाज भएको स्पष्ट पार्नुभएको छ। “जनताको प्रतिनिधि भएको र भुईँमा नै काम गरिरहेको, स्रोत–साधन, आफ्नो कार्यालयको परिवारका सदस्य र सयौँ जनता गुमाएको प्रतिनिधिले अनुभूति गरेको विषय हो। आफन्त गुमाएका र घरसारविहीनहरूको आवाज पनि हो,” अध्यक्ष अर्यालले भन्नुभएको छ।
‘नकारात्मक प्रचार नगर्नू भन्ने फोन आयो’
बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएपछि गृहमन्त्रीको सचिवालयबाट आफूलाई फोन आएको अध्यक्ष अर्यालले बताउनुभएको छ। उहाँका अनुसार फोनमा नकारात्मक प्रचार नगर्न र राजनीतीकरण नगर्न आग्रह गरिएको थियो।
तर उहाँले सरकारको उपस्थिति प्रभावकारी रूपमा महसुस हुने अवस्था सिर्जना गरिए आफूले यस्तो आवाज उठाउनै नपर्ने जवाफ दिएको बताउनुभएको छ। “हामीले यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ,” आफूले दिएको जवाफ उद्धृत गर्दै उहाँले भन्नुभएको छ।
‘पार्टीका नेताले पनि मैदानमा आएर हेर्नुपर्छ’
अध्यक्ष अर्यालले आफू आबद्ध दलसँग समेत बाढी प्रभावित क्षेत्रको उद्धार र राहतमा अझ प्रभावकारी रूपमा मैदानमा उत्रिन आग्रह गर्नुभएको छ।
उहाँले आफू दुई पटक केन्द्रीय सदस्य भइसकेको नेकपा एमालेमा आबद्ध रहेको उल्लेख गर्दै पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल र गोकर्ण विष्टबाहेक आफूलाई व्यक्तिगत रूपमा खोजी गर्ने अवस्था नदेखिएको गुनासो गर्नुभएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, सुरेन्द्र पाण्डेसहित देशभरका नेता तथा सहयोद्धाहरूले भने चासो र चिन्ता व्यक्त गरेको उहाँले बताउनुभयो।
परिणामविहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ, यसले पीडितलाई थप पीडा दिनेछ, के गर्न सकिन्छ, मैदानमा नै जनताले अनुभूति गर्ने गरी गरौँ, नेकपा एमालेको संस्कार र संस्कृति यही हो,”
एमालेको आकस्मिक सचिवालय बैठकलगायतका गतिविधि सामाजिक सञ्जालमा देखिए पनि प्रभावित क्षेत्रमा त्यसको परिणाम देखिनुपर्ने उहाँको आग्रह छ। “परिणामविहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ, यसले पीडितलाई थप पीडा दिनेछ, के गर्न सकिन्छ, मैदानमा नै जनताले अनुभूति गर्ने गरी गरौँ, नेकपा एमालेको संस्कार र संस्कृति यही हो,” उहाँले भन्नुभएको छ।
उहाँले आफ्ना अभिव्यक्ति पार्टी वा सरकारविरुद्धको नकारात्मक प्रचारका रूपमा नबुझिदिनसमेत आग्रह गर्नुभएको छ।
विद्यालयको भुईँमा कालो म्याट्रेस ओछ्याएर रात काट्दै ३५० विस्थापित
उहाँका अनुसार बाढीपछि घरबारविहीन भएका करिब ३५० जनालाई अहिले नीलकण्ठ माध्यमिक विद्यालय, बोगटीटारमा राखिएको छ।
विद्यालयका कोठामा कालो म्याट्रेस ओछ्याएर रात बिताउनुपर्ने अवस्था रहेको अध्यक्ष अर्यालले बताउनुभएको छ। केही मनकारी स्थानीय बासिन्दाले आफ्नै घरमा विस्थापित परिवारलाई आश्रय दिएर राख्नुभएको छ।
“नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरू, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकाहरूको संवेदनशील अवस्था अनुसार गर्नुपर्ने विशेष सहयोग गर्न सकिरहेका छैनौँ,
कालिका र नौकुण्ड गाउँपालिकाले खाद्यान्नलगायत सामग्री सहयोग गरेका कारण तत्कालका लागि करिब तीन दिन पुग्ने अवस्था बनेको उहाँले जानकारी दिनुभएको छ। तर राहतको आवश्यकता तीन दिनमा समाप्त हुने अवस्था छैन। घर गुमाएका परिवारको पुनर्स्थापना, खाद्यान्न, सुरक्षित आवास, स्वास्थ्य उपचार र मनोसामाजिक सहयोग तत्काल आवश्यक रहेको उहाँको भनाइ छ।
गर्भवती, सुत्केरी, बालबालिका र वृद्धको अवस्था झनै संवेदनशील
विस्थापित शिविरमा नियमित औषधि सेवन गर्नुपर्ने बिरामी, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक तथा बालबालिकाको अवस्था विशेष संवेदनशील बनेको छ। उनीहरूको स्वास्थ्य अवस्थाअनुसार आवश्यक विशेष सेवा र औषधि उपलब्ध गराउन नसकिएको अध्यक्ष अर्यालले बताउनुभएको छ।
बिरामीको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको उहाँले जानकारी दिनुभयो। “नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरू, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिकाहरूको संवेदनशील अवस्था अनुसार गर्नुपर्ने विशेष सहयोग गर्न सकिरहेका छैनौँ,” उहाँले भन्नुभएको छ।
तिरुमा पहिरोको जोखिम, खाद्यान्न अभाव
पहिरोको जोखिममा रहेको तिरु क्षेत्रमा पनि ठुलो सङ्ख्यामा मानिसहरू फसेको खबर प्राप्त भएको अध्यक्ष अर्यालले बताउनुभएको छ।
त्यहाँ खाद्यान्नलगायत आवश्यक सामग्रीको अभाव रहेको भन्दै उहाँले तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्नुभएको छ।
त्रिशूली नदीको वारिपारि फसेका र परिवारका सदस्यबाट अलग भएका नागरिकलाई समेत उद्धार गरी परिवारसँग पुनर्मिलन गराउने व्यवस्था गर्नुपर्ने उहाँको माग छ।
अब तत्काल के गर्नुपर्छ ?
अध्यक्ष अर्यालले अहिलेको अवस्थाबाट नागरिकलाई सुरक्षित निकाल्न तत्काल केही काम गर्नुपर्ने बताउनुभएको छ।
पहिलो प्राथमिकता बेपत्ता नागरिकको खोजी तथा उद्धार, दोस्रो घाइते तथा बिरामीको तत्काल हवाई तथा स्थल उद्धार, तेस्रो नदी किनारमा रहेका शवको सुरक्षित व्यवस्थापन, चौथो पहिरोको जोखिममा रहेका बस्तीको स्थानान्तरण, पाँचौँ खाद्यान्न, औषधि, पानी र अस्थायी आवासको व्यवस्था र छैटौँ क्षतिग्रस्त सडक तथा सञ्चार सम्पर्क पुनर्स्थापना हुनुपर्ने उहाँको भनाइ छ।
उत्तरगयाको अहिलेको दृश्य केवल बाढीले बगाएको घर, सडक र पुलको दृश्य होइन। यो आफन्त गुमाएका परिवारको चित्कार, बेपत्ता नागरिकको प्रतीक्षा, घरबार गुमाएका बालबालिकाको भय, नदी किनारमा पहिचान हुन बाँकी शव र राज्यको उद्धार टोलीको प्रतीक्षामा बसेका नागरिकको पीडाको दृश्य हो।
त्यसैगरी घरबारविहीन परिवार, बेपत्ता नागरिक, अभिभावकविहीन बालबालिका, ध्वस्त भएका निजी तथा सार्वजनिक संरचना र अन्य क्षतिको यथार्थ तथ्याङ्क तत्काल सङ्कलन गर्नुपर्ने उहाँले बताउनुभएको छ।
सहयोग गर्न इच्छुक संघसंस्थालाई प्रभावित क्षेत्रमा पुगेर काम गर्न आवश्यक सहजीकरण गरिदिन पनि उहाँले सम्बन्धित निकायसँग आग्रह गर्नुभएको छ।
राज्यको नजर ओझेलमा परेका क्षेत्रमा काम सुरु हुने विश्वास
अध्यक्ष अर्यालका अनुसार जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क भएपछि प्रमुख जिल्ला अधिकारीले तत्काल गर्नुपर्ने काम आजदेखि सुरु गर्ने जानकारी दिनुभएको छ।
स्थानीय सरकारका जनप्रतिनिधिसँग समन्वय गरेर राज्यको नजरमा ओझेलमा परेका क्षेत्रसम्म राहत, उद्धार र उपचार पुर्याउने काम सुरु हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
तर त्यसका लागि समय निकै कम छ। नदी किनारमा रहेका शव व्यवस्थापनदेखि बिरामीको उद्धार, जोखिममा रहेका नागरिकको स्थानान्तरण र खाद्यान्न आपूर्तिसम्मका काम तत्काल गर्नुपर्ने अवस्था छ।
उत्तरगयाका बाढीपीडितका लागि सामाजिक सञ्जालमा देखिने आश्वासनभन्दा अहिले घटनास्थलमा पुग्ने हेलिकप्टर, उद्धार गर्ने हात, उपचार गर्ने चिकित्सक, खानेकुरा बोकेको गाडी र सुरक्षित ठाउँमा पुर्याउने राज्यको उपस्थिति आवश्यक छ।
उत्तरगयाको अहिलेको दृश्य केवल बाढीले बगाएको घर, सडक र पुलको दृश्य होइन। यो आफन्त गुमाएका परिवारको चित्कार, बेपत्ता नागरिकको प्रतीक्षा, घरबार गुमाएका बालबालिकाको भय, नदी किनारमा पहिचान हुन बाँकी शव र राज्यको उद्धार टोलीको प्रतीक्षामा बसेका नागरिकको पीडाको दृश्य हो।
अध्यक्ष अर्यालको भनाइमा अहिलेको सबैभन्दा ठुलो प्रश्न यही हो- विपद्का बेला सरकार कहाँ छ भन्ने होइन, पीडितले सरकारलाई कहिले र कहाँ महसुस गर्न पाउँछन् ?
उत्तरगयाका बाढीपीडितका लागि सामाजिक सञ्जालमा देखिने आश्वासनभन्दा अहिले घटनास्थलमा पुग्ने हेलिकप्टर, उद्धार गर्ने हात, उपचार गर्ने चिकित्सक, खानेकुरा बोकेको गाडी र सुरक्षित ठाउँमा पुर्याउने राज्यको उपस्थिति आवश्यक छ। किनकि बाढीले घर र सम्पत्ति मात्र बगाएको छैन-धेरै परिवारका आशा, भरोसा र आफ्ना मान्छे पनि बगाएको छ। अब ढिला हुने हरेक घडी कुनै परिवारका लागि अर्को दुःखद खबर बन्न सक्ने जोखिम छ।














प्रतिक्रिया दिनुहोस्