जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार ००:४०

बाढीपीडितका लागि ओएनएफले २० लाख दिने, थप सहयोग संकलन गर्न प्रभु थापालाई तोक्यो कमाण्डर


काठमाडौं, भदौ १२ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ तत्कालै २० लाख रुपैयाउपलब्ध गराउने निर्णयसहित थप सहयोगका लागि अभियान सुरु गरेको छ । मञ्चका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा बिहीवार बसेको सचिवालयको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै तत्काल २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको गराउने निर्णय गरिएको अन्तराष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डे र सचिव चानक पोखरेलले जारी गर्नुभएको बिज्ञप्तिमा जनाइएको छ । सो रकम नेकपा एमालेमार्फत वा सिधै प्रधानमन्त्री कोषमार्फत उपलब्ध गराइने छ ।

बैठकले अन्तराष्ट्रिय कमिटीका उपसचिव प्रभु थापाको नेतृत्वमा बिश्वभर राहत संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मञ्चका बिश्वभर रहेका सदस्यहरुलाई राहत कोषमा सहयोग रकम स्वतःस्फूर्त रुपमा जम्मा गराउने कामका लागि थापाको नेतृत्वमा समन्वय समिति बनाइएको हो ।

बैठकले बिश्वभर ‘नेपाल बाढी पहिरो प्रभावित राहत सहयोग अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । सो अभियानको नेतृत्व उपसचिव प्रभु थापालाई दिइएको हो । बैठकमा अध्यक्ष रमेश पाण्डेले तत्कालै १ लाख रुपैयाँ र उपसचिव थापाले ५० हजार रुपैयाँ कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।