जनता टाइम्स

१२ भाद्र २०८३, शुक्रबार ०८:१०

मुख्यमन्त्री किरण थापा बाढी प्रभावित बेत्रावतीमा : जनताको पीडामा साथमा रहेकाे भन्दै सहयोगमा कमी हुन नदिने प्रतिवद्धता  


काठमाडौं, भदौ १२ । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा बाढीबाट प्रभावित रसुवाको बेत्रावती बजार पुग्नुभएको छ। उहाँले बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै प्रभावित नागरिकहरूसँग प्रत्यक्ष भेट गरी उहाँहरूका समस्या र अवस्थाबारे जानकारी लिनुभएको हो।

बाढीबाट प्रभावित नागरिकहरूसँगको भेटमा मुख्यमन्त्री थापाले कठिन परिस्थितिमा प्रदेश सरकार जनताको साथमै रहेको बताउनुभयो। प्रभावित नागरिकहरूको उचित व्यवस्थापन नहुँदासम्म प्रदेश सरकार आवश्यक सहयोग र समन्वयका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

मुख्यमन्त्री थापाले बाढीपछिको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो। “यस कठिन घडीमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकार पूर्ण रूपमा परिचालित छ, जनताको पीडामा सरकार सधैँ साथमा छ र आवश्यक सहयोगमा कुनै कमी हुन दिइने छैन,” मुख्यमन्त्री थापाले भन्नुभयो।

उहाँले प्रदेश सरकारका संयन्त्रलाई प्रभावित क्षेत्रमा परिचालन गरी नागरिकको वास्तविक अवस्था बुझ्न तथा तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आफू स्वयं प्रभावित क्षेत्रमा आएको स्पष्ट पार्नुभयो। थापाले आफू पीडित जनताकै साथमा रहेकाे र रहने प्रतिवद्धता व्यक्त गर्नुभयाे । 

उहाँका अनुसार बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका नागरिकलाई सम्बन्धित जिल्लासम्म पुर्‍याउने जिम्मेवारी प्रदेश सरकारले लिएको छ। घरबारविहीन भएका तथा बाढीपछि सेल्टरमा आश्रय लिएर बसेका नागरिकका लागि प्रदेश सरकारले खानालगायत आवश्यक व्यवस्थासमेत गरिरहेको जनाएको छ।

त्यस्तै, प्रदेश सरकारको तर्फबाट प्रभावित क्षेत्रमा परिचालित स्वास्थ्यकर्मीको टोलीले नुवाकोट, धादिङ तथा रसुवाका विभिन्न अस्पतालमा पुगेर बिरामीको उपचार गरिरहेको छ।

“यस कठिन घडीमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकार पूर्ण रूपमा परिचालित छ, जनताको पीडामा सरकार सधैँ साथमा छ र आवश्यक सहयोगमा कुनै कमी हुन दिइने छैन,” मुख्यमन्त्री थापाले भन्नुभयो।

बाढीका कारण क्षतिग्रस्त भएका सडक तथा वैकल्पिक सडकको मर्मतसम्भार गरी रसुवासम्म यातायात सञ्चालन सहज बनाउने कामसमेत प्रदेश सरकारले सुरु गरिसकेको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो। उहाँका अनुसार उद्धार तथा राहतसँगै प्रभावित क्षेत्रमा यातायात, स्वास्थ्य, खाद्य तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ३८९ जनाभन्दा बढीको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा १३७ जनाको शव फेला परेको छ। त्यस्तै, रसुवामा १७, धादिङमा ३३, गोरखामा ३२, नुवाकोटमा २८, तनहुँमा २८, नवलपरासी पूर्वमा ८७ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा परी अझै कैयौँ मानिस बेपत्ता छन्। नेपाल प्रहरीका अनुसार बाढीपछि २८ जना प्रहरी कर्मचारीसमेत अझै सम्पर्कविहीन अवस्थामा छन्।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीयवासी, रेडक्रस तथा विभिन्न राजनीतिक दलका स्वयंसेवकहरू परिचालित छन्।