काठमाडौं, भदौ १५ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ।
आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कारबाहीस्वरूप जोर्डनका किङ हुसेन र अल अज्राक सैन्य अखडालाई लक्षित गरी आक्रमण गरिएको हो।
इरानी पक्षले आक्रमणबाट अमेरिकी सैन्य पूर्वाधार तथा लडाकु विमान तैनाथ गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको दाबी गरेको छ।
यसअघि अमेरिकी अधिकारीहरूले लाराक द्वीपमा रहेका इरानी रिभोलुसनरी गार्डका दुईवटा रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए। ती केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकी दाबी थियो।
लाराकमा भएको अमेरिकी आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारणको मृत्यु र घाइते भएको बताइएको छ। यद्यपि, मृतक तथा घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन।
जोर्डनस्थित अमेरिकी सैन्य अखडामाथि भएको भनिएको पछिल्लो आक्रमणको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। घटनासँगै अमेरिका र इरानबीचको तनाव थप बढ्ने संकेत देखिएको छ।














प्रतिक्रिया दिनुहोस्