जनता टाइम्स

१० पुष २०७६, बिहीबार १०:१२

पत्नी नीलमसँग सम्बन्ध बिच्छेदपछि गायक रामकृष्ण ढकालको प्रतिक्रिया : हाम्रो सम्बन्ध कहिल्यै मर्दैन


काठमाडौं, पुस १० । चर्चित गायक रामकृष्ण ढकालले पत्नी नीलम शाहबीच सम्बन्धविच्छेद भएको खबर सार्वजनिक भए लगत्तै आफ्नो सम्बन्ध कहिल्यै नमर्ने बताउनु भएको छ । गायक ढकालले पत्नी नीलमसँग काठमाडौं जिल्ला अदालतमा पुगेर सम्बन्धविच्छेद गरेको खबर बाहिरिएलगत्तै यस्तो बताउनु भएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा श्रीमती निलमसँगको आफ्नो तस्बिर शेयर गर्दै ढकालले सम्बन्ध कहिल्यै नमर्ने बताउनुभएको हो । काठमाडौं जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार दिउँसो ढकाल र शाहबीचको सम्बन्धविच्छेद गर्न सहमति दिएको थियो। जिल्ला अदालतका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार, ढकाल दम्पतीबीच अलगअलग बस्ने भनेर सहमति भए अनुरूप न्यायाधीश कोइरालाको इजलासले सम्बन्धविच्छेद गराइदिएको हो।

मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ। ढकाल दम्पत्तिको सम्बन्धविच्छेदको चर्चा सामाजिक सञ्जालमा भइरहेका बेला स्वयम् ढकालले फेसबुकमा पत्नी निलमसँगको तस्बिरसहित स्टाटस लेख्नुभएको छ । ‘अरुले जेसुकै भनुन्। तर, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन’, ढकालले फेसबुकमा लेख्नुभएको छ । गायक ढकालले सम्बन्धविच्छेद भएको स्वीकार गर्नुभएको छैन । अदालतले भने बुधबार सहमतिमै सम्बन्धविच्छेद भएको बताएको छ।