डडेल्धुरा, भदौ १६ । सुदूरपश्चिमको मौलिक एवं प्रमुख पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। भाद्र शुक्लपक्ष पञ्चमीका दिन मनाइने बिरुडा पञ्चमीसँगै गौरा पर्व सुरु भएको हो।
गौरा पर्वको पहिलो दिन आज व्रतालु महिलाले घरघरमा पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर बिरुडा भिजाउने चलन छ। मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा तयार गरिन्छ।
परम्पराअनुसार तामाको भाँडोलाई गोबरले लिपेर दुबो र अक्षताले सजाई त्यसमा बिरुडा भिजाइन्छ। बिरुडालाई गौरादेवीको प्रसादका रूपमा लिने गरिन्छ भने गौरा पूजामा समेत यसको प्रयोग गरिन्छ।
संस्कृतिका जानकारका अनुसार बिरुडा भिजाउने क्रममा डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने फाग गाउने परम्परा छ। महिलाहरूले मंगलकामना गर्दै फाग गाएर गौरा पर्वको सुरुवात गर्ने गर्छन्।
भिजाइएको बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ। त्यसपछि सप्तमी र अष्टमीलाई गौराका विशेष दिनका रूपमा मनाइन्छ।
सप्तमीका दिन धान खेतमा उम्रिएको साउँबाट गौराको प्रतिमा बनाइ ‘गौराघर’मा भित्र्याउने परम्परा छ। गौराष्टमीका दिन विशेष पूजाआजा, मंगलगान तथा गौरा नचाउने गरिन्छ। सोही अवसरमा अठवाली, चैत, धमारीलगायत गीत गाउने तथा देउडा खेल्ने परम्परा पनि छ।
गौरा पर्वमा महिलाले दुबधागो लगाउने चलन रहेको छ। यसलाई महिलाका लागि पुरुषले यज्ञोपवीत धारण गरेसरहको धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा लिइन्छ।
गौरादेवीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीको पूजा गरिने यो पर्व सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परासँग जोडिएको छ। गौरा पर्वमा श्रीमान् तथा परिवारका सदस्यको सुख, शान्ति, स्वास्थ्य र दीर्घायुको कामना गर्ने गरिन्छ।
गौराको अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लामा देउडा, डुस्को, धमारीलगायत सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुँदैछन्।














प्रतिक्रिया दिनुहोस्