जनता टाइम्स

१६ भाद्र २०८३, मंगलवार २२:०२

पूर्वाधारमन्त्रीलाई रास्वपा सचेतकको जवाफः स्थानीय तह पनि विपदका पीडित हुन्


काठमाडौं, भदौ १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले विपद् व्यवस्थापनमा स्थानीय तह सक्रिय भएन भनेर काठमाडौंमा बसेर आरोप लगाउनु अन्याय हुने बताउनुभएको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले विपद् व्यवस्थापनमा स्थानीय तह र स्थानीय प्रशासन स्वतः सक्रिय नभएको टिप्पणी गरेपछि रास्वपा सांसद धितालले सामाजिक सञ्जालमार्फत स्थानीय तहको बचाउ गर्नुभएको हो ।

धितालले स्थानीय तह आफैँ विपद्को प्रत्यक्ष पीडित रहेको अवस्थामा काठमाडौंमा बसेर उसलाई सक्रिय भएन वा समन्वय गरेन भनेर मात्र आरोप लगाउनु उचित नहुने बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन । अरे, हामीले कस्तो नसम्झेको ? स्थानीय तह आफैँ पनि यो विपद्को पीडित हो । उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ ।’

आफैँ क्षतिग्रस्त भएको स्थानीय तहबाट पूर्ण क्षमतामा निर्णय लिन, उद्धार गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो भन्ने प्रश्नसमेत उहाँले उठाउनुभएको छ ।

‘जसले आफैँ गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो ?’ उहाँले प्रश्न गर्नुभएको छ ।

प्रभावित प्रदेश र स्थानीय तहलाई दोषीका रूपमा कठघरामा उभ्याउनेभन्दा उनीहरूलाई पुनः उभिन सक्ने बनाउनु सरकारको जिम्मेवारी भएको धितालको भनाइ छ ।

उहाँले विपद्का बेला सरकारका विभिन्न तहबीच प्रतिस्पर्धा नभई एकअर्काको सहारा बन्नुपर्नेमा जोड दिँदै लेख्नुभएको छ, ‘विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन् । हामी सहारा बनौँ ।’