जनता टाइम्स

२० भाद्र २०८३, शनिबार १५:४८

बालेन-सुधन ‘सेनाको हेट कमेन्ट’ ले रास्वपा सांसद नै लज्जित : अति भो ! भन्दै निशा डाँगी बनिन् आक्रोशित


काठमाडौं, भदौ २० । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ निकट साइबर सेनाको अश्लिल गालीगलौजले सत्तारुढ रास्वपाकै सांसदहरू लज्जित हुन थालेका छन् ।

बाढीपीडितले आफ्नो परिवार बचाउन गुहार माग्दा र श्रीमान बचाइदेऊ सरकार भन्दा पीडित महिला र परिवारमाथि नै ‘बालेन–सुधन सेना’ ले आपत्तिजनक आक्षेप र गालीगलौज गर्न थालेपछि सांसदहरूले लज्जाबोध गर्नुपरेको हो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री र मन्त्रीका समर्थकको कमेन्टबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नै आजित भएका छन्। रास्वपा नेतृहरू निशा डाँगी, समिक्षा बाँस्कोटा र गणेश कार्कीले पीडितमाथि मनपरी गाली गर्ने काम आपत्तिजनक रहेको र अति भएको भन्दै लज्जाबोध गर्नुभएको छ ।

बाढीमा श्रीमान् बेपत्ता भएपछि काखमा बच्चा च्यापेर खोजी गरिदिन सरकारसँग आग्रह गरेकी एक महिलाको भिडियाेमा अशोभनीय तथा घृणास्पद टिप्पणी सरकार समर्थित व्यक्तिहरूबाटै आएपछि रास्वपाका सांसद नै लज्जित भएका हुन्।

महिलाको भिडियाे चरित्र हत्या गर्ने खालका कमेन्टको बाढी नै लागेको छ । श्रीमानको उद्धार माग्दा सरकारको विरोध गरेको भन्दै ती महिलामाथि भद्दा र हेरिनसक्नुका टिप्पणी गरिएको छ । पीडितको पुकार र बेदना सरकारको विरोध नभएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन्।

रास्वपाकी सहमहामन्त्री एवं सांसद निशा डाँगीले विपत्तिमा परेका व्यक्तिको पीडामाथि सामाजिक सञ्जालमा गरिएको टिप्पणीप्रति दुःख व्यक्त गर्नुभएको छ । बाढीले श्रीमान् गुमाएकी महिलाको पीडा र असहायपनलाई बाहिरबाट बसेर मूल्याङ्कन गर्न नसकिने उहाँको निचोड छ ।

पीडित महिलाले कुनै तमासा देखाइरहेकी नभई आफ्नो पीडा र असहायपन पोखिरहेको उल्लेख गर्नुभएको छ । तर, उक्त भिडियोमा आएका केही कमेन्टमा देखिएको घृणा अझ पीडादायी भएको डाँगीले बताउनु भएको छ ।

‘कसैको जीवन उजाडिएको बेला हामी यति कठोर कसरी हुन सक्छौँ ? कसैको संसार भत्किँदा हामीलाई व्यङ्ग्य गर्न, गाली गर्न र दोष लगाउन किन यति सजिलो हुन्छ ?’ डाँगीको प्रश्न छ ।

निशाको भनाइ जस्ताको तस्तै

बाढीले श्रीमान् खोसेको छ । काखमा आफ्नो बच्चा छ। आँखामा आँसु छ, अनि मनमा एउटै प्रश्न, मेरो श्रीमान् कहाँ हुनुहुन्छ ?
आफ्नो प्रियजनको अवस्थाबारे केही थाहा नपाउँदाको पीडा, हरेक क्षणको अनिश्चितता, राज्य संयन्त्रप्रतिको आक्रोश र आफ्नो परिवारलाई बचाउन नसक्दाको विवशता, यी भावनाहरूलाई हामी बाहिर बसेर कसरी नाप्न सक्छौँ ?

यो भिडियोमा उनी कुनै ‘तमासा’ देखाइरहेकी छैनन् । उनले आफ्नो पीडा र असहायपन देखाइरहेकी छन् । तर सबैभन्दा पीडादायी कुरा त यही भिडियोको comment section मा देखिएको घृणा हो ।

कसैको जीवन उजाडिएको बेला हामी यति कठोर कसरी हुन सक्छौँ ? कसैको संसार भत्किँदा हामीलाई व्यङ्ग्य गर्न, गाली गर्न र दोष लगाउन किन यति सजिलो हुन्छ ?

भोटेकोशीको विनाशकारी बाढीले घर, परिवार र सपना गुमाएका मानिसहरू आज कसरी बाँचिरहेका छन्, एक पटक त्यो कल्पना गरौँ । कति जना आज पनि आफ्नो मान्छेको खबर पर्खिरहेका होलान् । एउटा फोन, एउटा खबर, एउटा झलकको आशामा बसेका ती परिवारहरूको पीडा हामीले पूर्ण रूपमा महसुस गर्न नसके पनि कम्तीमा सम्मान त गर्न सक्छौँ ।

आफ्नै मान्छे हराएको बेला कोही रोयो, करायो, रिसायो भने उसलाई सम्हाल्ने कि उसको चरित्रमाथि प्रश्न उठाउने ? विपत्तिमा परेको मान्छेलाई गाली गरेर हामी आखिर के साबित गर्न खोजिरहेका छौँ ?

सरकारले राम्रो काम गरिरहेको छ भने त्यसको मूल्याङ्कन गर्ने समय पछि पनि आउँछ । कमजोरी भएको छ भने प्रश्न गर्ने समय पनि आउँछ । तर अहिले, विपत्तिको बीचमा पीडितमाथि नै यसरी hate comment गर्ने अधिकार हामीलाई कसले दियो ?
कसैको घर उजाडिएको बेला उसको राजनीतिक विचार होइन, उसको पीडा हेरौँ । कसैले आफ्नो प्रियजन खोजिरहेको बेला उसका शब्द होइन, उसका आँसु सुनौँ ।

मेरो समाज यस्तो बन्नु हुँदैन । दुःखमा परेको मान्छेलाई अझै दुःख दिने होइन, उसको हात समात्ने समाज बन्नुपर्छ । मानवता हरायो भने हामीसँग बाँकी के रहन्छ र ?

त्यस्तै, रास्वपाकी अर्की सांसद रञ्जु दर्शनाले पनि काखमा बच्चा च्यापेर हराएका श्रीमान्को खोजी गरिदिन सरकारसँग आग्रह गरिरहेकी महिलाको भिडियोमा आएका कमेन्टप्रति आपत्ति जनाउनु भएकाे छ। पीडितको अवस्थामाथि खिसिट्यूरी गर्ने तथा अशोभनीय टिप्पणी गर्ने प्रवृत्तिप्रति खेद व्यक्त गर्नु भएकाे छ ।

उहाँले भन्नुभएकाे छ, ‘ती दिदीको जीवनमा प्रलय गएको छ, भोलिको अनिश्चितताले मन काँपेको छ। उनले सरकारलाई गाली पनि गरिरहनुभएको छ, मलाई पनि राम्रो लागेन तर त्यो गाली भन्दा माथि धेरै पर मनको कुनामा आसा छ आफ्नो मान्छे आउनुहुन्छ फर्केर भन्ने। ए साथी हो, हाम्रो जीवनमा अकल्पनीय र अन्याय पूर्ण केही भयो भने भगवान्सँग त हामी रिसाउँछौ, झोकिन्छौँ।’

रास्वपाका अर्का सांसद गणेश कार्कीले पनि विपत्तिमा परेका व्यक्ति आक्रोशित हुनु स्वाभाविक भएको बताउनुभएकाे छ। हरेक व्यक्तिले आफ्नो पीडा अरूले अपेक्षा गरेकै भाषा, व्यवहार र शैलीमा व्यक्त गर्न नसक्ने उहाँको भनाइ छ।

उहाँले भन्नुभएकाे छ, ‘पीडित आक्रोशित हुनु प्राकृतिक हो । हरेक मान्छेले आफ्नो पीडा अर्को कसैले चाहेकै भाषा, व्यवहार र तरिकामा नपोख्न सक्छ । यस्तोमा पीडितको आक्रोशको प्रतिक्रियामा गालीगलौजमा उत्रिने मान्छेले न मानवीयताको पक्षपोषण गर्छ, न मुलुकको, न पार्टीको ।’