काठमाडौं, भदौ २३। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नवयुवाहरूले उठाएका जायज माग र भावनालाई सम्बोधन गर्दै अघि बढ्न पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरूको सम्झनामा वक्तव्य जारी गर्दै महासचिव पोखरेलले मृतकप्रति श्रद्धाञ्जली तथा घाइते र पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ।
उहाँले आन्दोलनका क्रममा युवाहरूले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन, सहज सेवा प्रवाह तथा सामाजिक सञ्जालको निर्बाध प्रयोगलगायतका माग जायज र साझा सरोकारका विषय भएको उल्लेख गर्नुभएको छ।
महासचिव पोखरेलले शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाउने षड्यन्त्र भएको दाबी गर्दै त्यसका योजनाकार र षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्नुपर्ने बताउनुभएको छ।
उहाँले विगतमा युवाहरूको भावना र माग सम्बोधन गर्ने क्रममा पार्टीबाट केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
देशमा सुशासन र विधिको शासन स्थापित गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै महासचिव पोखरेलले एमाले नवयुवाहरूका जायज माग सम्बोधन गर्न सधैँ तत्पर रहेको स्पष्ट पार्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्