काठमाडौं, भदौ २४ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
महाशाखाका अनुसार मधेस, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
तराई भूभागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्