जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार १२:४१

पाँचथरमा बुवाको हत्या आरोपमा आमाछोरा पक्राउ


विराटनगर, भदौ २६ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा बुवाको हत्या गरेको आरोपमा आमा र छोरा पक्राउ परेका छन्।

मिक्लाजुङ गाउँपालिका–३ का इन्द्रकुमार दमाईको हत्या गरेको आरोपमा स्थानीय ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरा पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिष कर्णका अनुसार प्रारम्भिक अनुसन्धानमा आमा–छोरा मिलेर दमाईको हत्या गरेको खुलेको छ। पक्राउ परेका दुवैलाई अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ।

दमाई भदौ २० गते छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला पर्नुभएको थियो। उहाँको घाँटीमा सलको पासो लगाइएको तथा निधारलगायत शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट आत्महत्या नभई हत्या भएको आशंका भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा पक्राउ परेका आमा–छोराले आफ्नै घरमा बन्चरो र दाउले प्रहार गरी दमाईको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। हत्या गरेपछि शवलाई घरनजिकैको आल्चाको रुखमा झुन्ड्याइएको र पछि त्यहाँबाट करिब पाँच सय मिटर तल भीरपाखामा लगेर फालेको उनीहरूले बयान दिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा प्रयोग भएको बन्चरोसहित केही अन्य हतियारसमेत बरामद गरेको छ।