जनता टाइम्स

२६ भाद्र २०८३, शुक्रबार १४:५५

बालेन सरकार निकम्मा सावित भएको तथ्य राख्दै सांसद आशिकाले सभामुखसँगै जवाफ मागेपछि


काठमाडौं, भदौ २६ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बिरुद्ध संसदमै आगो ओकल्नु भएकाे छ ।

दुईतिहाईको सरकारले जनतालाई ग्यासदेखि कुनै सेवा सुविधा नदिने तर आफ्नो कमजोरी लुकाउन मन्त्री फेर्ने खेल भएको भन्दै सांसद आशिकाले कडा आक्रोश पोख्नुभएको हो ।

उहाँले ग्यास छैन भने सरकारले सोही अनुसारको घोषणा गर्न पनि चुनौती दिनुभयो । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङले जनताले भोकभोकै बस्ने दिनका लागि रास्वपालाई दुई तिहाई मत नदिएको र प्रधानमन्त्री बालेनका लागि मात्रै सत्ता नभएको बताउनु भयो ।

‘साँच्चीकै ग्यास छैन भने आज नै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्‍यो। जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्न पर्‍यो,’ सांसद तामाङको भनाई थियो । उहाँले ग्यासकै कारण मन्त्री परिपवर्तन गरिएको भन्दै कडा आक्रोश पोख्नुभयो ।

‘ग्याँसकाे लागि महिनै पिच्छे मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ,’ तामाङको भनाई थियो । प्रधानमन्त्री शाहले बिहीवार मात्रै उद्योगमन्त्री गौरीकुमारी यादवलाई राजीनामा दिन लगाएर आफू निकट दीपक साहलाई मन्त्री बनाउनु भएको थियो ।

सांसद तामाङले यस विषयमा आक्रोश पोख्नुभएको हो । उहाँले ग्यास भएर पनि पसलेले नबेचेको भनेर आफूलाई दैनिक फोन आउने गरेको र सरकारमा रहेकाहरूको नजर नगएको आरोप पनि लगाउनु भयो ।

‘यो ल्हासामा सुन छ कान मेरो बुच्चै छ भनेजस्तो भएन ? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो ? यसको जबाफ सदनको सबैभन्दा नजिकको व्यक्तित्व सभामुखज्यूबाट नै पाउनेछु भनेर आस गरेको छु,’ सांसद तामाङले भन्नुभयो ।

सांसद तामाङको यो अभिव्यक्तिमा सहमति जनाउँदै सत्तारूढ सांसदहरूले टेबल ठोकेका थिए। सांसदहरूको टेवल ठोकाइपछि सांसद आशिकाले ‘ए !’ भन्दै आफ्नो भनाई सकाउनु भएको थियो ।