काठमाडौं, भदौ २८ । भारतको नयाँ दिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
भेटवार्तामा राष्ट्रपति सीले चीन र भारतले आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक दृष्टिकोण र दीर्घकालीन विकासलाई ध्यानमा राखेर अघि बढाउनुपर्ने बताउनुभएको छ ।
दुई देशबीच केही मतभिन्नता रहे पनि साझा विकासका लागि एकअर्कालाई सहयोग र समर्थन गर्दै आएको सीले उल्लेख गर्नुभएको छ । शनिबार नयाँ दिल्ली आइपुग्नुभएका सीले प्रधानमन्त्री मोदीसँग यसअघि २० भन्दा बढी पटक भेटवार्ता भएको र ती भेटवार्ताबाट महत्वपूर्ण सहमति बनेको स्मरण गर्नुभएको छ ।
विश्वका दुई ठूला जनसंख्या भएका तथा ‘ग्लोबल साउथ’का सदस्य राष्ट्रका रूपमा चीन र भारतको मानव जातिको साझा भविष्यप्रति महत्वपूर्ण जिम्मेवारी रहेको सीले बताउनुभएको छ ।
भेटवार्तामा प्रधानमन्त्री मोदीले भारतको ब्रिक्स अध्यक्षताका क्रममा चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै राष्ट्रपति सीलाई स्वागत गर्नुभएको थियो । उहाँले भेटवार्ताले दुई देशबीच द्विपक्षीय सहकार्यका विविध विषयमा छलफल गर्ने अवसर प्रदान गरेको बताउनुभएको छ ।
यसैबीच, ब्रिक्स सदस्य राष्ट्रहरूले सर्वसम्मतिले ‘नयाँ दिल्ली घोषणापत्र २०२६’ पारित गरेका छन् । घोषणापत्रमा पश्चिम एसियामा जारी तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अधिकतम संयम अपनाउन, नागरिक तथा सर्वसाधारणका पूर्वाधारको सुरक्षा गर्न र कूटनीतिक माध्यमबाट शान्ति कायम गर्न आह्वान गरिएको छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार विश्वव्यापी व्यापार, आपूर्ति शृङ्खला तथा ऊर्जाको सहज प्रवाह कायम राख्न मिलेर काम गर्नुपर्नेमा पनि घोषणापत्रले जोड दिएको छ ।
ब्रिक्स सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले आगामी वर्ष ब्रिक्सको अध्यक्षता गर्दै १९औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने घोषणा गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले विश्वव्यापी सुशासन सुधारका लागि १० वटा उपाय प्रस्ताव गर्दै ‘ग्लोबल साउथ’लाई विश्वव्यापी निर्णय प्रक्रियाको मूलधारमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्