जनकपुरधाम, भदौ ३० । ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्त रास्वपा सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य हरि ढकाल नेतृत्वको कार्यक्रममा पुगेपछि पक्राउ पर्नबाट जोगिएको प्रहरीले जनाएको छ ।
जिल्ला समन्वय समिति महोत्तरीको सभाहलमा आइतबार आयोजित रास्वपाको कार्यक्रममा ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त मनरा सिस्वा नगरपालिका–२ का रोमन प्रताप सिंह ‘रोमन’ सहभागी भएका थिए ।
रोमन कार्यक्रममा रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट विशेष टोली उनलाई पक्राउ गर्न पुगेको थियो । तर रास्वपाका कार्यकर्ताले प्रहरीलाई अवरोध गर्दै नाराबाजी गरेपछि उनलाई नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी श्याम सारु मगरले प्रहरी टोली पुगेका बेला कार्यकर्ताको हुलहुज्जत र अवरोधका कारण रोमन पक्राउ पर्नबाट जोगिएको पुष्टि गर्नुभयो । उहाँका अनुसार रोमन त्यहाँबाट फरार भएका छन् र प्रहरीले उनको खोजी गरिरहेको छ ।
प्रहरी निरीक्षक विश्वभरनाथ साहका अनुसार विशेष सूचनाका आधारमा सोमबार रोमनलाई पक्राउ गर्न टोली परिचालन गरिएको थियो । तर प्रहरीलाई अवरोध भएपछि पक्राउ गर्न नसकिएको उहाँले बताउनुभयो ।
प्रहरी स्रोतका अनुसार रोमनलाई पक्राउ गर्न प्रहरी पुगेको जानकारी पाएपछि उनका समर्थकले होहल्ला गरेका थिए । प्रहरी र कार्यकर्ताबीच विवाद बढेपछि सांसद ढकालसहितका कार्यकर्ता हलबाट बाहिरिएका थिए । सोही क्रममा रोमन पनि त्यहाँबाट निस्किएको स्रोतको दाबी छ ।
प्रहरी स्रोतले सांसद ढकालले ‘सँगै हिँड रोमन’ भनेपछि उनीसँगै बाहिरिएका रोमन त्यस क्रममा फरार भएको दाबी गरेको छ । यद्यपि घटनाबारे सांसद ढकालको पक्षबाट भने यस विषयमा स्पष्ट प्रतिक्रिया सार्वजनिक भएको छैन ।
रोमनविरुद्ध गत जेठ १७ गते मनरा सिस्वा नगरपालिकामा भएको रास्वपाको नगर अधिवेशनका क्रममा भएको झडपलाई लिएर ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको हो ।
नगर अधिवेशनमा नेतृत्व चयनको विषयमा विवाद हुँदा रास्वपाका दुई पक्षबीच झडप भएको थियो । झडपमा सतीशकुमार कापरसहित पाँच जना घाइते भएका थिए । सतीश कापर र गोविन्द कापर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
सतीश कापरको जाहेरीका आधारमा रोमनविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको थियो । महोत्तरी जिल्ला अदालतले गत साउन ४ गते रोमनलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिँदै पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रास्वपाले मधेश प्रदेशमा देखिएका समस्या तथा पार्टीको अवस्थाबारे अध्ययन गर्न सहमहामन्त्री ढकाललाई विभिन्न जिल्लामा ‘पार्टी अडिट’ का लागि खटाएको छ । सोही क्रममा उहाँ आइतबार महोत्तरीको कार्यक्रममा सहभागी हुनुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्