काठमाडौं, भदौ ३१ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरिएको बताउनुभएको छ।
उहाँका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार पारिएको विधेयक मन्त्रिपरिषद्बाट पारित गराई संसद्मा पेस गर्ने तयारी भइरहेको छ।
मन्त्री गौतमले आजको व्यस्त जीवनशैली, कामको चाप तथा बदलिँदो पारिवारिक संरचनाका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेका बेला मातृत्व र पितृत्वको विशेष समयमा अभिभावकलाई नवजात शिशु तथा परिवारका लागि पर्याप्त समय उपलब्ध गराउनु राज्यको जिम्मेवारीसमेत भएको बताउनुभएको छ।
उहाँले यही सोचका आधारमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार गरिएको जानकारी दिनुभएको हो।
प्रस्तावित व्यवस्थाअनुसार आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा उपलब्ध गराउने तथा बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था राखिएको मन्त्री गौतमले बताउनुभएको छ।
उहाँले सुरक्षित मातृत्व र अभिभावकत्वका सन्दर्भमा प्रस्तावित व्यवस्था महत्त्वपूर्ण नीतिगत परिवर्तन हुने बताउनुभएको छ। नवजात शिशुको हेरचाह र पालनपोषणमा आमासँगै बुबाको पनि समान भूमिका आवश्यक हुने उहाँको भनाइ छ।
मन्त्री गौतमले बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया भए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको स्पष्ट पार्नुभएको छ। उहाँले अभिभावकत्वलाई साझा जिम्मेवारीका रूपमा स्थापित गर्न राज्यका नीतिहरू पनि सोहीअनुसार अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
प्रस्तावित विधेयक संसद्बाट पारित भई कार्यान्वयनमा आएमा प्रसूति तथा शिशु स्याहारका क्रममा अभिभावकले पाउने बिदासम्बन्धी व्यवस्थामा महत्त्वपूर्ण परिवर्तन आउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्