जनता टाइम्स

५ आश्विन २०८३, सोमबार १७:५२

एकढिक्का हुनुपर्ने बेलामा पार्टीभित्रै केही व्यक्ति समस्या सिर्जना गर्न लागे : ओली


काठमाडौं, असोज ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि विभिन्न कोणबाट प्रहार भइरहेको बेला एकढिक्का भएर अघि बढ्नुपर्नेमा पार्टीभित्रै केही व्यक्ति समस्या सिर्जना गर्न लागिपरेको आरोप लगाउनुभएको छ।

ललितपुरको भनिमण्डलमा सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिकूल परिस्थितिको सामना गर्न पार्टी एकताबद्ध हुनुपर्ने बताउनुभएको हो।

उहाँले पार्टीभित्रका विषय पार्टी कमिटीमै छलफल गर्नुपर्नेमा केही व्यक्तिले सञ्चारमाध्यममार्फत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि जनाउनुभयो।

अध्यक्ष ओलीले पार्टीभित्रको बहस र छलफल कमिटीमै गर्न सकिने उल्लेख गर्दै सञ्चारमाध्यममा गएर अध्यक्ष हटाउनुपर्नेलगायतका अभिव्यक्ति दिनु उपयुक्त नभएको बताउनुभयो।

पार्टीका आन्तरिक विषय बाहिर लैजाँदा पार्टीको प्रतिष्ठा कमजोर हुने र विपक्षीलाई फाइदा पुग्ने उहाँको भनाइ छ। उहाँले पार्टीभित्र देखिएको अराजकता नियन्त्रण गर्दै संगठनलाई अनुशासित र एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभयो।

अध्यक्ष ओलीले गत पुसमै भएको केन्द्रीय महाधिवेशनले पार्टीको नीति, विचार, विधि र नेतृत्व लोकतान्त्रिक प्रक्रियाबाट टुंगो लगाइसकेको उल्लेख गर्नुभयो।

महाधिवेशनका निष्कर्षलाई नमान्ने र त्यसको बहानामा पार्टीभित्र अराजकता सिर्जना गर्ने काम स्वीकार्य नहुने बताउँदै उहाँले सबैलाई स्वस्थ, सभ्य र संगठनात्मक विधिअनुसार छलफलमा सहभागी हुन आग्रह गर्नुभयो।