जनता टाइम्स

१३ पुष २०७६, आईतवार १७:०७

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षलाई स्पष्टिकरण, सञ्चालक समितिले लगायो तीन गम्भीर अभियोग


काठमाडौं, पुस १३ । नेपाल एयरलायन्सका कार्यकारी अध्यक्ष मदन खरेललाई स्पष्टिकरण सोधिएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको सुधार गर्ने बाचासहित २०७५ साल असोजमा नियुक्ति लिएर आउनुभएका खरेललाई काम गर्न नसकेपछि सञ्चालक समितिले स्पष्टिकरण सोधेको हो । सञ्चालक समितिको गत शुक्रबारको बैठकले खरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

अध्यक्ष भएर आएको एक बर्षसम्म पनि संस्थाको आय बढाउने तथा व्यापार विस्तार भन्दा पनि सामान्य जागिरमै मस्त बनेको आरोप सञ्चालक समितले आरोप लगाएको छ । समितिले साउदी अरबको जिएसए नियुक्तिमा अनावश्यक ढिलासुस्ती गरेको, आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उडान गर्न नसकेको, जापानको नारिता उडानका लागि तयारी गर्न समय लिएर मनलागी ओसाका उडान गरेर संस्थालाई आर्थिक नोक्सानी गराएको अभियोग लगाएको छ ।

समितिले पाँच बुँदे स्पष्टिकरणमा अध्यक्ष खरेलले सञ्चालन बोर्डमा पेस गरेको एजेन्डमा कसरी असहयोग भएको, बोर्डबाट निर्णय नहुँदा निगमको कुन काममा ढिलाइ भएको, बोर्डको बैठकमा कुन सदस्यले अनुपस्थिती जनाएर असहयोग गरी बोर्ड बैठक बस्न नसकेको अवस्थामा रहेको सोको विवरण पेस गर्न निर्देशन दिएको छ।

त्यस्तै निगमको वाइडबडी सञ्चालन सम्बन्धी तयार गरिएको व्यापारिक योजनामा जापानको टोकियोका उडान गर्ने योजना रहेको तर, नेपाल जापान बीच हवाई सम्झौता नवीकरणको दौरान टोकियोमा स्लट नपाउने, नारितामा पाउने भएपछि प्रधानमन्त्री, परराष्ट्र मन्त्रालयको राय सुझावसमेतको आधारमा जापानको नारिताको जिएसए नियुक्ति छनौटको प्रस्तावमा स्वीकृत भएको अवस्थमा नारिता छोडेर ओसाका उडान गर्नुको कारण र ओसाका उडानको क्षती विवरण र त्यसको जवाफदेही को हुन्छ ? भनेर सोधिएको छ।