जनता टाइम्स

२३ आश्विन २०८३, शुक्रबार १९:२८

प्रहरीले समात्यो ५४ करोड बढी मूल्यको अबैध सुनसहित तीन जना सुन तस्कर : प्रशोधन र तस्करीका लागि लिइएको थियो सिंगै घर


काठमाडौं, असोज २३ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट बरामद भएको करिब २२ किलो अवैध सुन बिमानस्थलहुँदै बाहिरिएको तथ्य खुलेको छ ।

उपत्यका अपराध महाशाखाले प्रारम्भिक अनुसन्धानको क्रममा नै सो सुन हवाईमार्ग हुँदै नेपाल भित्रिएको खुलेको बताएको छ ।
सुन एकैपटक नभएर थोरैथोरै परिमाणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।

यो घटनासँगै भन्सार जाँचपास भएर सुन कसरी बाहिरियो भन्नेबारे गम्भीर प्रश्नसमेत उठेको छ । यसअघि पनि धेरैपटक सुन विमानस्थलहुँदै बाहिरिने गरेको थियो । उपत्यका अपराध महाशाखाको टोलीले असोज २२ गते बिहान करिब ६ बजेतिर सो सुन बरामद भएको थियो । प्रहरीका अनुसार तस्करले भाडामा लिएको घरबाट बीवाईडी कार गेटबाहिर निस्कँदै थियो ।

सूचनाका आधारमा केही दिनअघिदेखि रेकी गरिरहेका प्रहरीले कार रोकेर जाँच गर्दा चिनियाँ नागरिक फेलापरेका थिए । कार २७ वर्षीय चिनियाँ नागरिक हान फेइले चलाएका थिए । कार रोक्नासाथ थप दुई जना चिनियाँ भित्रबाट निस्किए । सो कारबाट प्रहरीले २ केजी सुन बरामद गरेको थियो ।

त्यसपछि प्रहरीले सुन तस्करी गर्न चिनियाँ नागरिकले मासिक ३ लाख ३० हजार रुपैयाँमा घर भाडामा लिएको तथ्य खुलेको थियो । प्रहरीले सो घरबाट नियन्त्रणमा लिएको कार असोज १० गते चीनबाट नेपाल आएका हान फेइले १५ दिनका लागि भाडामा लिएको भेटिएको छ ।

चिनियाँ नागरिकलाई पक्राउ गरेर घरमा छापा मार्दा प्रहरीले कुल २१ केजी ७५० ग्राम सुन बरामद गर्न सफल भएको हो । केही दिनअघिदेखि निरन्तर निगरानी गरेर चलाइएको उक्त अपरेसनलाई ‘ब्राभो गल्फ’ नाम दिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेका तीन जनामध्ये सबैभन्दा पहिला आएका हान फेइले दैनिक ८ हजार रुपैयाँ तिर्ने गरी कार भाडामा लिएका थिए । उनीसँग इन्टरनेसनल ड्राइभिङ लाइसेन्ससमेत रहेको छ ।

बूढानीलकण्ठमा भाडामा लिएको घरको साँचो फेइले चीनको ग्वाङ्झाउमा प्राप्त गरेका थिए । उनीसँगै असोज १० मा ४७ वर्षीय चोउ लोङछिन पनि काठमाडौँ आएका हुन् । एसएसपी खडकाका अनुसार उनीहरूलाई ग्वाङ्झाउबाट झेन जियालेले काठमाडौँको घरको साँचो दिएर नेपाल पठाएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

हान फेइले सुन तस्करीको मुख्य व्यक्ति चिनियाँ नागरिक झेन जियाले भएको प्रहरीलाई बताएका छन् । उनी ग्वाङ्झाउमै बस्छन् । फेइले उनीबारे अनुसन्धान अधिकृतहरूसँग भनेका छन्, ‘झेन जियाले मुख्य बोस हुन् ।’
यस प्रकरणमा हालसम्म तीन जना चिनियाँ नागरिक मात्र पक्राउ परेका छन् । प्रहरीले हान फेइ, चोउ लोङछिन र ३७ वर्षका वाङ जियानझेनलाई पक्राउ गरेको हो । संलग्न अन्य आरोपीहरूमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले बताउनु भयो ।

‘मुख्य बोस’ ले भनेअनुसार नै उनीहरूले काम गर्दै आएका थिए । झेन जियालेले विच्याटमार्फत उनीहरूलाई निर्देशन दिने गरेका थिए । पक्राउ परेका तीनै जना हङकङ ट्रान्जिट भएर नेपाल आएका थिए । तस्कर समूहका अर्का एक जनाले साउन ८ गते घर भाडामा लिएको भेटिएको छ ।

प्रहरीका अनुसार मासिक ३ लाख ३० हजार रुपैयाँ बुझाउने सम्झौता गरेर अर्का चिनियाँ नागरिक स्यु छानले १३ लाख २० हजार रुपैयाँ घरधनीलाई भुक्तानी दिएका थिए । घरभाडा सम्झौता गरेर साउन ३० मा चीन फर्केका स्यु छान त्यसपछि नेपाल फर्केका छैनन् ।

उक्त घर ४ महिनाका लागि भाडामा लिइएको पाइएको छ । घरको साँचो स्यु छानले लगेर मुख्य बोस भनिएका झेन जियालेलाई बुझाएको प्रहरीको भनाई छ । बरामद गरिएको उक्त सुनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार रुपैयाँ पर्छ ।

एसएसपी खडकाका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदै माथिल्लो भंगालस्थित एक घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूले घर भाडामा लिएर अवैध रूपमा सुनको कारोबार, प्रशोधन तथा ओसारपसार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी खड्काको भनाई छ। खडकाका अनुसार यस कारबाहीलाई ‘अपरेसन ब्राभो गल्फ’ नाम दिएको थियो ।