जनता टाइम्स

३० बैशाख २०७६, सोमबार ०८:५१

नेकपाका नेता तथा जनप्रतिनिधि गाउँगाउँ जाने


काठमाडौं 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले राष्ट्रिय अभियान लिएर गाउँगाउँ जाने भएको छ । २०७४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि अभियान लिए जान नसकेको नेकपाले एकता लगत्तै अभियान लिएर जनताबीच जान लागेको हो ।

पोलिटब्युरो गठन, केन्द्रीय नेताहरूको कार्यविभाजन र जनसंगठनको एकतालगत्तै देशभर राष्ट्रिय अभियान लिएर नेताहरू गाउँ तहसम्मै जाने महासचिव विष्णु पौडेलले बताउनु भयो । ‘अभियान लिएर जान ढिला भएको छ, एकता र एकीकरणको काम सक्नेबित्तिकै हामी देशव्यापी राष्ट्रिय अभियान चलाउने तयारीमा छौं,’ महासचिव पौडेलले भन्नुभयो । नेकपाले गतवर्षको जेठ ३ मा पार्टी एकतापछि एकताको सन्देश र सरकारको नीति तथा कार्यक्रम जनताबीच सम्प्रेषण गर्ने उद्देश्यले विशेष अभियान चलाउने निर्णय गरेको थियो। तर त्यो अभियान अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। फेरि पनि त्यो अभियान चलाउनैपर्नेमा नेताहरु पुगेका छन् । पार्टीले अब छिट्टै अभियान चल्ने महासचिव पौडेलको भनाइ छ। ‘अब ढिलो हुँदैन, २ महिना, ३ महिना कति समयको हुन्छ, हामी अभियान लिएर जनताबीच पुग्दै छौं’, उहाले भन्नुभयो । पुसमा बसेको स्थायी समिति बैठकले पनि अभियान चलाउने निर्णय गरेको थियो । अध्यक्षद्वयको राजनीतिक दस्तावेजमा पार्टीको आगामी कार्यक्रम उपशीर्षकमा समेत राष्ट्रिय अभियानका दुईमहिने योजना समाविष्ट थिए।

पार्टी एकताको सन्देश आम जनताबीच सम्प्रेषित गर्न, पार्टी र सरकारका नीति र योजनालाई सार्वजनिक रूपमा स्थापित गर्न र लाखौं जनतालाई पार्टीको वरिपरि गोलबद्ध गर्न माघ र फागुनमा विशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय नेकपाको स्थायी समिति बैठकले गरेको थियो। पछिल्लो समय विपक्षी कित्ताबाट पार्टी र सरकारविरुद्ध भ्रामक प्रचारको योजनाबद्ध अभियान नै चलाइएको नेकपाको निष्कर्ष छ।