जनता टाइम्स

३० बैशाख २०७६, सोमबार ०८:५९

आठ वर्षसम्म काम ओगट्ने पप्पु कन्ट्रक्सनलाई कमला नदीको पुल निर्माणबाट हटाइयो


सिन्धुली ।

आठ वर्ष योजना रोकेर राख्ने पप्पु कन्ट्रक्सनलाई सिन्धुलीको दुधौली नगरपालिका–१ र २ जोडने गरी बन्न लागेको कमला नदीको पुल निर्माणको जिम्मेवारीबाट हटाइएको छ । एसियाली विकास बैंकको अनुदान सहयोग करिब ३१ करोड रुपैया लागतमा दुधौली नगरपालिकाको वडा नं २ र ३ जोड्ने गरी कमला नदीमा आठ वर्षअघि पुल निर्माण सुरु गरिएको थियो । ५४२ मिटरको नेपालकै दोस्रो लामो पक्की पुल भनिएको त्यो पुल निर्माणको ठेक्का पप्पु लुम्बिनी जेभिले पाएका थिए ।

तर काम थालेको आठ वर्ष वितिसक्न लाग्दासमेत पुलको स्पान राख्न बाहेक अन्य काम गर्न नसकेपछि पप्पुलाई हटाइएको हो । आठ वर्षदेखि ठेक्का लिएर पुल निर्माणको काम आधा पनि नगरी अलपत्र अवस्थामा छाडेपछि पप्पुलाई हटाएर लुम्बिनी जेभिले बाँकी कामको जिम्मा लिएको त्यस सडक आयोजनाले जनाएको छ ।

२०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पप्पु–लुम्बिनी जेभिले २०६८ असार ३१ गते सम्झौता गरी पुल निर्माण सुरु गरेका थिए । उनीहरुको आन्तरिक सहमति अनुसार पुल निर्माण भने पप्पु कन्ट्रक्सनले एक्लै गर्दै आएको थियो । तर पप्पुले तोकिएको समयमा पुल निर्माण नसकेपछि २०७४ साउन १४ सम्म म्याद थपिएको थियो ।

सडक आयोजनाका पूर्वी खण्ड प्रमुख ईन्जिनियर ललिजंग खनालका अनुसार लुम्बिनी कन्स्ट्रक्सनले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने जिम्मा लिएर बाँकी काम सुरु गरेको छ । पप्पु कन्ट्रक्सनले पुलको निर्माण लागतमध्ये ५३ प्रतिशत रकम भुक्तानी भने लगि सकेको उहाँले जानकारी दिनुभयो ।

पुल निर्माणको बाँकी काम सक्ने जिम्मा लिएसँगै सामान झारेर कामअघि बढाई सकेको लुम्बिनी कन्ट्रक्सनका शंकर राउतले बताउनुभयो । काम नलाग्ने र खिया लागेको एउटा स्पान भत्काएर काम अघि बढाई सकेको भन्दै उहाँले पुल निर्माण अर्को असारसम्म सकेर बुझाउने लक्ष्य रहेको बताउनुभयो ।