जनता टाइम्स

३० बैशाख २०७६, सोमबार ०९:०७

दाइजोमा मोटरसाइकल अनिवार्य भएपछि गाँउमा विवाह हुनै छाड्यो


सिरहा ।

सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरको एक बस्तीमा अढाई सय घरपरिवारको बसोबास छ । फागुन र वैशाखमा मोटरसाइकल दाइजोबिना यस गाउँमा एउटा पनि विवाह भएको छैन । हरेकले विवाहअगावै दाइजोमा मोटरसाइकल दिएका छन् । यो टोलमा हुने विवाहमा मोटरसाइकल दाइजो अनिवार्य जस्तै बनेको छ ।

पछिल्लो दुई महिनामा कृष्णपुरको यो गाउँमा १७ जनाको विवाह भयो । सबैले दाइजोमा मोटरसाइकल लिएका छन् । तीन वर्षयता यस गाउँमा दर्जनौँ मोटरसाइकल दाइजोमा भित्रिएको स्थानीय भोला यादवले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएकाले पनि ऋण खोजेर वा भएका थोरै जग्गाजमिन बेचेर भए पनि मोटरसाइकल दाइजो दिन बाध्य भएका छन् । ‘युवा बेरोजगार छन् । आम्दानी शुन्य छ । तर, देखासिखीका कारण विवाहमा मोटरसाइकल अनिवार्य लिन्छन्’, यादवले भने, ‘अभिभावकमा खर्चको भार बढेको छ ।’

विवाह छिनोफानो हुनुभन्दा अगाडि केटा पक्षको पहिलो सर्त सवारी साधन हुने गरेको छ । गाउँघरमा हुने गरेका विवाहमा कसले कति महंगो मोटरसाइकल लियो भन्ने होडबाजी चलेको छ । स्थानीय मि श्री यादवका अनुसार विवाहमा तडकभडक बढ्दै गएको छ ।

सरकारले कानूनमा दाइजो लेनदेन बन्देज लगाए पनि कार्यान्वयन नभएको उनको दुखेसो छ । ‘दाइजोबिना विवाह लगभग मुस्किल छ’, उनले भने, ‘गाउँमा छोरीको विवाहमा ऋण नलागेको घरै छैन् । दाइजो प्रथा बिकराल बनेको छ ।’

गरिब भए पनि विवाह हुँदा दाइजोमा मोटरसाइकल लिने गरेको उदाहरण गाउँमा धेरै भएको स्थानीय ह्दय साफीले बताए । ‘फजुल खर्च गर्ने, रमाउने, मोजमस्ती गर्ने प्रवृति बढ्दो छ’, साफीले भने, कतिपयले आफैँ किन्न नसक्दा विवाहमा मोटरसाइकल माग्ने गरेका छन् ।’ मोटरसाइकल कबुल नगरेसम्म विवाहको छिनोफानो नै नहुने उनको भनाइ छ ।

शो–रुममा प्रायः विवाहकै लागि मोटरसाइकल खरिद गर्न आउनेको संख्या बढी भएको बिक्रेता स्विकार्छन् । गाउँघरमा अधिकांश युवा सवारी चालक अनुमति पत्रबिना मोटरसाइकल चलाउने गरेका छन् । जसले दुर्घटना पनि बढाएको छ । (अन्नपूर्ण पोष्टबाट)