जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार १७:४३

हाइज्याक अलर्टपछि एयर इन्डियाको विमान जयपुरमा आपतकालीन अवतरण


काठमाडौं, असोज २८ । हाइज्याक अर्थात् विमान अपहरणसम्बन्धी सुरक्षा सङ्केत सक्रिय भएपछि एयर इन्डियाको एक विमान भारतको जयपुरमा आपतकालीन अवतरण गरिएको छ।

जर्मनीको फ्र्याङ्कफर्टबाट भारतको नयाँदिल्लीका लागि उडेको उडान नम्बर एआई–२०३० बुधबार बिहान राजस्थानको जयपुर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचारअनुसार विमानका पाइलटले केही सेकेन्डका लागि सम्भावित अपहरण वा गैरकानुनी हस्तक्षेपको सङ्केत दिने ‘स्क्वाक ७५००’ ट्रान्सपोन्डर कोड सक्रिय गरेका थिए। त्यसपछि भारतीय सुरक्षा निकाय सतर्क बनेका थिए।

सुरक्षालाई ध्यानमा राख्दै विमानलाई दिल्लीको सट्टा जयपुरतर्फ मोडिएको थियो। विमान अवतरणपछि त्यसलाई नियमित उडान र सर्वसाधारणबाट टाढा रहेको छुट्टै सुरक्षित क्षेत्रमा राखिएको छ।

विमानमा रहेका सबै यात्रुलाई सकुशल ओरालिएको बताइएको छ। तर विमान अपहरण भएको भने पुष्टि भइसकेको छैन।

घटनापछि नागरिक उड्डयन महानिर्देशनालय, एयर ट्राफिक कन्ट्रोल र सुरक्षा निकायका टोलीले विमानको प्राविधिक तथा सुरक्षा जाँच सुरु गरेका छन्।

‘स्क्वाक ७५००’ विमानमा अपहरण वा गैरकानुनी कब्जाको अवस्था जनाउन प्रयोग गरिने विशेष सुरक्षा कोड हो।