काठमाडौं, असाेज २९ । उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन लामो समयदेखि अधुरो रहेको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाको बाँकी कामलाई तीव्रता दिन आग्रह गर्नुभएको छ।
आयोजनाअन्तर्गत मातातीर्थ–चोभार खण्डको निर्माण सम्पन्न भई एउटा सर्किट चार्ज भएकोमा खुसी व्यक्त गर्दै घिसिङले बढ्दो विद्युत् मागलाई सम्बोधन गर्न प्रसारण तथा वितरण पूर्वाधारको विकास योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो।
काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने उद्देश्यले करिब २७ वर्षअघि सुरु गरिएको आयोजना जग्गा विवाद, स्थानीय अवरोधलगायत विभिन्न चुनौतीका कारण लामो समयदेखि पूर्ण हुन नसकेको उहाँले उल्लेख गर्नुभएको छ।
आँफू नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारीमा रहँदा ललितपुर क्षेत्रमा बढ्दो विद्युत् माग र आपूर्ति प्रणालीको आवश्यकतालाई सम्बोधन गर्न वैकल्पिक योजनाका रूपमा चोभारमा १३२ केभी सबस्टेसन निर्माण गर्ने तथा त्यहाँबाट लगनखेल (पाटन) सम्म भूमिगत १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माण गर्ने योजना अघि बढाइएको घिसिङले बताउनुभएको छ।
उक्त योजनाका लागि आवश्यक लगानी जुटाएर निर्माण प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उहाँले हिमाल सिमेन्टको १२ रोपनी १२ आना जग्गा भाडामा लिने क्रममा देखिएका प्रक्रियागत जटिलता, सबस्टेसन निर्माणमा भएको स्थानीय अवरोध तथा त्यसको समाधानका लागि कीर्तिपुर नगरपालिकासँग गरिएका पटक–पटकका छलफल र सहमतिहरू स्मरण गर्नुभएको छ।
यी प्रयासमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, स्थानीय जनप्रतिनिधि, सरकारी निकाय तथा अन्य सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ छ।
चोभार सबस्टेसन सञ्चालनमा आएपछि र चोभार–लगनखेल भूमिगत प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न भएपछि ललितपुर क्षेत्रको विद्युत् आपूर्ति थप सुदृढ हुने घिसिङको विश्वास छ। यसले काठमाडौं उपत्यकाको समग्र प्रसारण प्रणालीलाई समेत थप भरपर्दो बनाउन सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभएको छ।
घिसिङका अनुसार काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग सन् २०३० सम्म ९२५ मेगावाट, सन् २०४० सम्म १ हजार ८२५ मेगावाट र सन् २०५० सम्म ३ हजार १६९ मेगावाट पुग्ने प्रक्षेपण छ। बढ्दो मागलाई विश्वसनीय रूपमा सम्बोधन गर्न प्रसारण लाइन, सबस्टेसन तथा वितरण पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने उहाँको भनाइ छ।
विद्युत्को माग निरन्तर बढिरहेको अवस्थामा योजनाअनुसार अघि बढाउनुपर्ने कतिपय पूर्वाधार निर्माणका काम अहिले ठप्पप्रायः रहनु चिन्ताको विषय भएको घिसिङले बताउनुभएको छ। उहाँले अनावश्यक ढिलाइ नगरी बाँकी प्रसारण लाइन, सबस्टेसन तथा अन्य आवश्यक पूर्वाधार निर्माणलाई पुनः गति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।
“विद्युत् पूर्वाधारको विकास कुनै एक व्यक्ति वा संस्थाको मात्र प्रयासबाट सम्भव हुँदैन,” उहाँले भन्नुभएको छ, “स्पष्ट योजना, संस्थागत प्रतिबद्धता, प्राविधिक दक्षता, प्रभावकारी कार्यान्वयन र सबै सरोकारवालाबीचको सहकार्यबाट मात्रै यस्ता महत्वपूर्ण आयोजना सम्पन्न गर्न सकिन्छ।”
अहिलेसम्म हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै घिसिङले विद्युत् मागको प्रक्षेपण गर्नुका साथै त्यसलाई सम्बोधन गर्ने पूर्वाधार निर्माणलाई पनि योजनाअनुसार अघि बढाउनु आवश्यक रहेको उल्लेख गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्