जनता टाइम्स

२९ आश्विन २०८३, बिहीबार ११:१८

दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : डा. अमरेशकुमार सिंह


काठमाडौं, असोज २९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त गर्दैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताउनुभएको छ। उहाँले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने उल्लेख गर्दै राजदूत नियुक्तिमा संसदीय निगरानीको महत्व औँल्याउनुभएको छ।

राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्वपूर्ण अभ्यास भएको सिंहको भनाइ छ।

उहाँले लोकतन्त्रमा बहुमतको शासन भए पनि बहुमतबाट हुने निर्णयलाई जवाफदेही बनाउने व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ। “लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुन्छ,” सिंहले भन्नुभएको छ।

संसदीय समितिको भूमिकालाई लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण पक्षका रूपमा व्याख्या गर्दै उहाँले सरकारका निर्णयमाथि प्रश्न उठाउने र आवश्यक निगरानी गर्ने अधिकारको महत्वमा जोड दिनुभएको छ।

सिंहले विधि, पद्धति र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर निर्णय प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गर्दै संसदीय समितिको गरिमा र लोकतान्त्रिक उत्तरदायित्वको महत्वलाई आफ्नो धारणामार्फत प्रस्तुत गर्नुभएको छ।