काठमाडौं, कात्तिक १२ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका चाडपर्व तथा शुभकामना आदानप्रदानका कार्यक्रमलाई औपचारिकतामा सीमित नगरी समुदायसँग जोड्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। उहाँले पार्टीका विभिन्न तहबाट आयोजना हुने सम्मान कार्यक्रम, औपचारिक भेटघाट र लामबद्ध भाषणको परम्परा बदल्नुपर्नेमा जोड दिनुभएको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि सम्बोधन गर्दै सभापति थापाले एउटै जिम्मेवारीका लागि विभिन्न स्थानमा पुगेर पटकपटक सम्मान ग्रहण गर्ने अभ्यास अन्त्य गर्नुपर्ने बताउनुभयो। ‘अब यहाँ आज हामीले कार्यक्रम गर्यौँ, सकियो। अब फेरि यहाँबाट फर्केर गइसकेपछि टोलमा सम्मान, वडामा सम्मान, क्षेत्रमा सम्मान, गाउँमा सम्मान यो बन्द गरौँ। एकैपटक बस्यौँ, यो जिम्मेवारी लियौँ, सकियो अब,’ उहाँले भन्नुभयो।
थापाले तिहार, छठलगायत चाडपर्वका अवसरमा पार्टीका कुनै पनि तहले आयोजना गर्ने शुभकामना आदानप्रदानका कार्यक्रम समुदायसँग प्रत्यक्ष जोडिनुपर्ने बताउनुभयो। औपचारिक कार्यक्रम गर्ने, नेताहरू सहभागी हुने र भाषण गरेर फर्किने परम्परालाई निरन्तरता दिनुको सट्टा नागरिकसँगको सम्बन्ध विस्तार गर्ने गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो। ‘हामी सबैले सबैलाई शुभकामना दिएकै छौँ। हाम्रो शुभकामना आदानप्रदानको कार्यक्रम पनि कुनै पनि पार्टी कमिटीले गर्छ भने त्यो कार्यक्रम समुदायसँग जोडिनुपर्छ,’ उहाँले भन्नुभयो।
सभापति थापाले कांग्रेसले आगामी चार वर्षका लागि स्पष्ट कार्ययोजना तयार गरी निश्चित क्यालेन्डरअनुसार पार्टी सञ्चालन गर्ने जानकारी पनि दिनुभयो। महाधिवेशनबाट पारित नीति, कार्यक्रम र सङ्गठन सुधारका योजनालाई एकीकृत कार्ययोजनामा समेटेर कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो।
एकीकृत कार्ययोजना पार्टी कार्यालयले तयार पार्ने र आगामी बैठकमा पेस गर्ने उहाँको भनाइ छ। महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई केन्द्रीय तहमा मात्र सीमित नराखी वडा तहका पार्टी सदस्य, समर्थक तथा आम नागरिकसम्म पुर्याउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
थापाले मंसिर महिनाभरि ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने घोषणा गर्नुभयो। महाधिवेशनबाट पारित विषयलाई दस्तावेजीकरण गर्दै मुलुकका वर्तमान समस्या समाधान गर्न र नागरिकका आकाङ्क्षा सम्बोधन गर्न पार्टी तयार रहेको सन्देश अभियानमार्फत जनतासम्म पुर्याइने उहाँले बताउनुभयो। ‘अब समीक्षा र आत्मालोचनाको चरण सकियो, अब अगाडि बढ्ने हो। कांग्रेसले अब जिम्मेवारी वहन गर्दै अघि बढ्नुपर्नेछ। प्रतिपक्ष, स्थानीय सरकार र राष्ट्रिय शक्तिका रूपमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका पूरा गर्न तयार छ,’ थापाले भन्नुभयो।
मंसिरमा सञ्चालन हुने अभियानको विस्तृत कार्ययोजना पार्टी कार्यालयले तयार गर्ने र केन्द्रीय बैठकबाट त्यसको सैद्धान्तिक पक्ष पारित गरी अन्य तयारी अघि बढाइने उहाँले जानकारी दिनुभयो।
जिम्मेवारीको परिणाम देखाउन विश्वप्रकाशको आग्रह
कार्यक्रममा कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीअनुसार काम गरेर परिणाम देखाउन आग्रह गर्नुभयो। काम गरेको देखाउन मात्र दौडधुप गर्ने प्रवृत्तिभन्दा संस्थागत योजना, स्पष्ट जिम्मेवारी बाँडफाँट र कामको प्रतिफललाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
पार्टीको जिम्मेवारी सम्हाल्नु भनेको प्रमाणपत्र र माला लगाएर सामाजिक सञ्जालमा तस्बिर राख्नु मात्र नभएको उल्लेख गर्दै शर्माले कांग्रेसको ऐतिहासिक विरासत जोगाउँदै वर्तमानलाई जिम्मेवार र भविष्यलाई सुन्दर बनाउने सङ्कल्प गर्नुपर्ने बताउनुभयो। ‘कांग्रेसको ऐतिहासिक विरासतलाई जोगाउँदै वर्तमानलाई जिम्मेवार र भविष्यलाई सुन्दर बनाउने सङ्कल्प नयाँ नेतृत्वले गर्नुपर्छ। इतिहास जति गर्विलो थियो, वर्तमानलाई उत्तिकै जिम्मेवार बनाएर भविष्यलाई उत्तिकै सुन्दर बनाउने सङ्कल्प आज शपथ ग्रहण गरिरहेको घडीमा हामीले गर्नुपर्छ,’ उहाँले भन्नुभयो।
शर्माले पछिल्लो महाधिवेशनबाट सहिद परिवार, प्रजातन्त्र सेनानी, पेसा–व्यवसायमा संलग्न व्यक्ति तथा युवाहरूको प्रतिनिधित्व नेतृत्वमा समेटिएको बताउनुभयो। युवाहरूको चाहना र भावना बुझ्न ३५ वर्षमुनिका युवा विभिन्न तहमा निर्वाचित भएर आएको उहाँको भनाइ थियो।
उहाँले निर्वाचित भएका र नभएका सबैलाई एउटै टिमका सदस्यका रूपमा अघि बढ्न आग्रह गर्नुभयो। सभापतिले तयार गर्ने कार्ययोजना र सङ्गठनले निर्धारण गरेका जिम्मेवारीअनुसार काम गर्न तथा त्यसको उपलब्धि समयमै प्रतिवेदनका रूपमा बुझाउनुपर्ने शर्माले बताउनुभयो। सामाजिक सञ्जाललाई समाज रूपान्तरणको माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। सभापति थापाले यसअघि असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसक्नुभएको थियो।
गत असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।














प्रतिक्रिया दिनुहोस्