जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार १८:०१

रेलको सपना पूरा गर्न दृढ देखियो ओली सरकार : निजगढ–बर्दिबास खण्डमा रेलमार्ग निर्माणले पायो तीव्रता


काठमाडौं, पुस १८ । पूर्वपश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डअन्तर्गत रौतहटमा ट्रयाक निर्माणको कामले निकै तीव्रता पाएको छ । रेलमार्ग निर्माणलाई पाँच भागमा विभाजन गरी कामलाई तीब्रता दिइएको हो ।

जसअनुसार रौतहटमा पर्ने धन्सार–वाग्मती खण्डमा ठेकेदार कम्पनी सन्तोषी कन्टेक स्वच्छन्द जेभी, लुम्बिनी, एपेक्स, खानी जेभी, रौताहा, हेम्डङ, कन्काई जेभी, लामा गोल्डेनवाल सिरुवा जेभी तथा श्रेष्ठ जेभीले ग्राभेल, ट्रयाक र पुल निर्माणको काम तीव्रगतिमा गरिरहेका छन् । निजगढ–बर्दिबास रेलमार्ग खण्डकै चन्द्रपुर नगरपालिका–८ स्थित बेतौनामा भने मुआब्जा विवादले निर्माण अघि बढ्न सकेको छैन । उचित मुआब्जा नपाएको भन्दै करीब ६ सय मिटर क्षेत्रमा स्थानीयवासीले अवरोध गरेपछि ट्रयाक निर्माण कार्यले गति लिन नसकेको हो ।

स्थानीयबासीले रेलको लिक र स्टेशन बनाउने जमीनको पुनःमूल्यांकन गरी उचित मूल्य पाउनुपर्ने माग राखेका छन् । प्रतिकठ्ठा १० लाख रुपैया पर्ने जग्गा तीन लाख ५० हजार मात्रै मुआब्जा निर्धारण गरिएकाले विरोध गरिएको उनीहरूको भनाइ छ । यसअघि मुआब्जा थोरै भएको भन्दै पुनःमूल्यांकनका लागि उनीहरूले जिल्ला प्रशासन कार्यलयमार्फत गृह मन्त्रालय, रेल्वे विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नापी, मालपोत र नगरपालिकालाई ज्ञापनपत्रसमेत बुझाएका थिए । यस विषयमा टुङ्गो नलागेपछि निर्माण कम्पनीले पश्चिम क्षेत्रबाट कामको थालनी गरेको हो । धन्सारदेखि वाग्मतीसम्म करिब २३ किलोमिटरमा ट्रयाक निर्माणले गति लिएको छ । उक्त स्थानमा जङ्गल पर्ने भएकाले रूख कटान स्वीकृतिका लागि डिभिजन वन कार्यालयहरुले विभागमा फाइल पठाएको बताइएको छ ।

रेलमार्गमा राष्ट्रिय तथा सामुदायिक वन गरी २५ दशमलव ७३ हेक्टर क्षेत्र पर्ने डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत रामप्रसाद साहले बताउनुभयो । वन क्षेत्रमा साल, जामुनु, सिसौ, खयरलगायतका पाँच हजार २९७ रुख काट्नुपर्ने उहाँको भनाइ छ । रुख कटानका लागि विभागमा फाइल पठाइसकिएको छ । सो खण्डमा पर्ने वाग्मती, पौराई, लमाहा, चाँदी, सत्यारी र अमोखोलामा गरी छ पुल बनाइने निर्माण कम्पनीले बताएको छ ।

इञ्जिनीयर सुमोद पोखरेलका अनुसार साढे दुई वषभित्र रेलमार्ग निर्माण सक्नुपर्नेेछ । निर्माण कम्पनीलाई करिब सवा तीन अर्ब रुपैयामा धन्सार वाग्मती खण्डको कामको जिम्मा दिइएको पोखरेलले बताउनुभयो । चालू आवको मंसिरमा मूल्यांकनका आधारमा रेलमार्ग निर्माणका लागि अर्थ मन्त्रालयसँग १० खर्ब ७४ अर्ब २७ करोड १४ लाख ९४ हजार रुपैया माग गरिएको उहाँले जानकारी दिनुभयो । सरकारी लगानीमा निजगढ–बर्दिबासखण्डको ७० किमी रेलमार्गको ट्रयाक निर्माण शुुरू गरिएको विभागले जनाएको छ । यस वर्ष रेल्वे स्टेशन, लिक हाल्ने, खानेपानी र विद्युतको काम सक्ने विभागको योजना छ ।