काठमाडौं, पुस २२ । घरेलु फुटबलमा दुई ठूला क्लवबीच खेलमा प्रतिस्पर्धा हुनु स्वभाविक हो तर स्टार खेलाडी नै अनुशासन गुमाउँदै खेलभावना विपरीत झगडामा उत्रनु कत्तिको सुहाउँला ?
ए डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी र र मच्छिन्द्र क्लबबीचको खेलमा पनि यस्तै भयो । पूरै ९० मिनेट गोलका लागि प्रतिस्पर्धा गरिरहेका दुई टिमका खेलाडी खेल सकिएपछि झगडामा उत्रिए ।
अस्ट्रेलियामा बस्दै आएका राष्ट्रिय टिमका पूर्व सदस्य जगजित श्रेष्ठले मच्छिन्द्रका दिपक राईलाई मुख छाडे । त्यसपछि झगडा सुरु भयो, जसलाई साम्य पार्न प्रहरी नै मैदानमा छिर्नुपरेको थियो । म्याच रेफ्री श्रवणकुमार तामाङ पनि झगडा देखेर अचम्ममा परे ।
उनी आफैले झगडा साम्य पार्न निकै कठिन थियो । त्यसपछि बेञ्चमा रहेका मनाङका रञ्जन विष्ट र मच्छिन्द्रका विजय धिमाल पनि मैदान छिरेर झगडामा संलग्न भएका थिए। रेफ्रीले झगडामा संलग्न मनाङका रञ्जनलाई रातो कार्ड दिए। त्यसैले झगडालाई साम्य पार्न एक दर्जन पुलिस मैदानमा पुगेका थिए । यतिमात्र होइन क्लबका पदाधिकारी र एन्फा अफिसियल पनि झगडालाई साम्य पार्न लागेका थिए ।
केही बेरको अशान्त वातावरणपछि झगडा त शान्त भयो तर जुन हरकत खेलाडीले मैदानमा देखाए, त्यसले अनुशासनमा भने ठूलो प्रश्न उठाएको छ । जगजित श्रेष्ठ राष्ट्रिय टिममा हुँदा पनि अलि सन्काहा प्रवृत्तिका खेलाडी भन्ने गरिन्थ्यो । अचानक रिसाउने उनको बानीले टिमका सदस्य पनि उनलाई सम्झाउने गर्थे । सोमबार उनकै कारणले झगडा सिर्जना भएको विपक्षी खेलाडीको भनाइ छ ।
अब यो घटनाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कुन रुपमा लिन्छ, त्यो हेर्न बाँकी छ । दुई टिमका खेलाडीको व्यक्तिगत इगोका कारण यो घटना भएको क्लबका पदाधिकारीको भनाइ छ ।
यसै सिजन मनाङबाट ६ जना खेलाडी मच्छिन्द्रमा गएका थिए । जसको रिस मनाङका खेलाडीलाई परेको हुन सक्छ ।
सोमबार भएको खेलमा एनआरटी र जावलाखेल गोलरहित बराबरी रोकिएका थियो । त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र मच्छिन्द्र युवा क्लबले बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्